पुरातत्व विभागप्रति काठमाडौं महानगरपालिकाका प्रमुख  विद्यासुन्दर शाक्यको आक्रोस

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १४ : ३९
पुरातत्व विभागप्रति काठमाडौं महानगरपालिकाका प्रमुख  विद्यासुन्दर शाक्यको आक्रोस

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित भएका छन्  । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निमाणका क्रममा विवाद हुने गरेको बताएका हुन् ।

कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए । अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाए । मेयर शाक्यले पुरातत्व विभागले यही अनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनी समेत दिए ।

महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताए । हनुमानढोका भित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खालि गराउन विभागलाई पत्राचार गरिसकेको बताए ।

सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि दिए ।मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनैपनि विवादमा नबोल्दा समेत निर्माण कार्यमा ढिलाई हुने गरेको बताए । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले लगाए। 

प्रतिक्रिया दिनुहोस