जहाजको प्राविधिक समस्या  जानकारी नगराउने पाइलटलाई उडानमा  रोक

सफल खबर संवाददाता

आइतबार, १६ फागुन २०७७, १३ : ५९
जहाजको प्राविधिक समस्या  जानकारी नगराउने पाइलटलाई उडानमा  रोक

काठमाडौं । नेपाल वायु सेवा निगमले जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटलाई उडान गर्नबाट रोक लगाएको छ ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २४ पुसमा दोहाबाट काठमाडौं आएको ए ३३० जहाज अवतरणका क्रममा हार्ड ल्याण्डिङ अवतरण गर्दा तल झर्नुपर्ने समय दोब्बर बढी गरिएको थियो । तर, अवतरण गरेपछि त्यस विषयमा जानकारी गराउनुपर्नेमा नगराएका पाइलटलाई १२ फागुन २०७७ देखि उडानमा रोक लगाइएको उनले जानकारी दिइन् ।

सामान्यतया जहाजमा प्राविधिक समस्या आएपछि पाइलटले हरेक उडान र अवतरणका क्रममा भर्नुपर्ने रिपोर्टमा जानकारी गराउनुपर्छ । निगमका अनुसार सो जहाज क्याप्टेन सुनील श्रेष्ठ र महेशमान डंगोलले उडाएका थिए ।

हार्ड ल्याण्डिङ भएको विषय नियमित डाटा एनालाइसिस प्रोग्राममार्फत २५ पुसमै पत्ता लगाइएको र  निर्माता कम्पनी एयरबससँग राय माग्न पत्राचार गरिएको श्रेष्ठले उल्लेख गरेकी छिन् ।

यद्यपि गत पुसमै पत्ता लागेको समस्याबारे मौन बसेको नेपाल वायुसेवा निगमले दुई महिना पछि मात्र पाइलटलाई उडानमा रोक लगाएको हो ।हार्ड ल्याण्डिङ भएको यो जहाज १ सय फ्लाइट साइकल उडान र अवतरण अवतरण वा दुई महिनासम्म उडान–अवतरण गर्न सक्ने भनी निर्माता कम्पनी एयरबसले जानकारी दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । त्यस अवधिमा भने निश्चित चेकजाँच गर्नुपर्ने राय एयरबसले दिएको छ ।

जहाजको समस्याबारे जानकारी नगराएको विषयमा जाँचबुझ गर्न निगमले वरिष्ठ क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वको क्याप्टेन विजय लामा, मनिषकुमार शाह तथा डम्बर रावत रहेको छानबिन समिति गठन गरेको छ ।

समितिले ११ फागुनदेखि नै काम थालेको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् । समितिले दिने प्रतिवेदनको आधारमा थप कारवाही गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस