काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दैः आजै महासमिति बैठकको मिति टुंगो लाग्ने

शुक्रबार, ०९ चैत्र २०७४, ०९ : २८
काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दैः आजै महासमिति बैठकको मिति टुंगो लाग्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाचौँ केन्द्रीय कार्य समिति बैठक हो ।
यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले जानकारी दिए ।

महासमिति बैठकको मिति तोकिने
एक दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उनले बताए ।
निर्वाचनपछि काँग्रेसमा नेतृत्वको आलोचनाका साथ महासमिति भेलाको माग समेत उठ्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस