किलोको हजारमा रामपुरको छुर्पी बजारमा

विहीबार, ०८ चैत्र २०७४, १४ : १७
किलोको हजारमा रामपुरको छुर्पी बजारमा

पाल्पा । रामपुर नगरपालिकामा छुर्पी उत्पादन थालिएको छ । रामपुरका दुग्ध व्यवसायीले हालै छुर्पी उत्पादन शुरु गरेका हुन् । यहाँका किसान पशुपालनतर्फ उन्मुख हुँदै गएपछि दूधको उत्पादन बढ्दै गएको छ ।

रामपुरमा सञ्चालित अमृत दुग्ध भण्डार र रामपुर डेरी उद्योगले छुर्पीको उत्पादन शुरु गरेका हुन् । यहाँ उत्पादन भएको छुर्पी स्थानीय बजार तथा चितवनसम्म खपत हुने गरेको अमृत दुग्ध भण्डारका सञ्चालक गणेश आचार्यले बताउनुभयो । “जिल्ला बाहिरबाट पनि माग आउन थालेको छ,” उहाँले भन्नुभयो । छुर्पी प्रतिकिलो रु ९५० मा बिक्री भइरहेको छ ।

रामपुरमा छुर्पी उत्पादन हुन थालेपछि कृषकको दूध सहजै बिक्री हुन थालेको छ । छुर्पी बनाउनका लागि निकालिएको क्रिमबाट घिउ पनि उत्पादन गर्न सकिने हँुदा व्यवसायीले मनग्य आम्दानी गर्न थालेका रामपुर डेरी उद्योगका सञ्चालक धनञ्जय ढुंगाना बताउनुहुन्छ । “दुग्ध व्यवसायीले छुर्पी उत्पादन शुरु गरेपछि रामपुर बजारमा दूध बिक्रीको समस्या हटेको छ,” उहाँले भन्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस