चीनले पनि ५ लाख मात्र कोरोना खोप दिने

पत्रपत्रिकाबाट

शनिबार, २४ माघ २०७७, ०७ : ५१
चीनले पनि ५ लाख मात्र कोरोना खोप दिने

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप ५ लाख डोज दिने प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् ।

यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो । चिनियाँ विदेशमन्त्री वाङले भने दूतावासले जानकारी दिएको भन्दा दुई लाख बढी खोप अनुदानमा दिने बताएका हुन् । वाङले ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिने पनि बताएका छन् । ज्ञवाली र वाङबीच दुई मुलुकको आपसी चासोका विषयमा कुराकानी भएको पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई यसअघि भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतका अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता अस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकीलाई प्राथमिकता दिने नीति’ अनुसार नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस