सरकारको विरोधमा जनगणतान्त्रिक मोर्चा नेपाले गर्यो कार्टुन प्रदर्शनी

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, १७ : ०८
सरकारको विरोधमा जनगणतान्त्रिक मोर्चा नेपाले गर्यो कार्टुन प्रदर्शनी

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कार्टुन प्रदर्शनी मार्फत सरकारको विरोध गरेको छ । बिहीबार काठमाडौंको रत्नपार्क स्थित शान्तिवाटिकामा पछिल्लो राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टुन मार्फत सरकारको विरोध गरेको हो ।

मोर्चाका संयोजक सिपी गजुरेलले संसदीय पार्टीका नेताहरुको चरित्र र अहिलेको गणतन्त्रलाई कार्टुन मार्फत देखाइएको बताए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबाट अन्योलमा परेका जनतालाई बुझाउन पनि कार्टुन प्रदर्शनी गरिएको बताए ।

प्रदर्शनीमा राखिएका कार्टुनहरुले देशमा परिवर्तन आउन नसकेको, राष्ट्रिय स्वाधिनताको रक्षा हुन नसकेको, देशको विकास र समृद्धि हुन नसकेको र रोजगारी पाउन नसकेर अन्योलमा परेका नागरिकहरुलाई समेत देखाइएको संयोजक गजुरेलले बताए । कार्टुनमार्फत अन्योलमा परेका जनतालाई अहिलेको राजनीतिक दलहरुले कुनै निकास दिन नसक्ने सन्देश दिन खोजिएको पनि संयोजक गजुरेलले प्रष्ट पारे ।

अहिलेको व्यवस्थाले जनतालाई निकास नदिने भएकाले अव नयाँ परिवर्तन ल्याउन नयाँ विकल्पको खोजि गर्नुपर्ने पनि संयोजक गजुरेलले बताए । देशमा संघीय जनगणतन्त्र ल्याउनुपर्ने कुरालाई पनि कार्टुनमार्फत देखाउन खोजिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस