नेकपाको स्थायी समिति बैठक बस्दै, प्रधानमन्त्रीलाई पार्टी सदस्यबाटै हटाइने

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, ०९ : १०
नेकपाको स्थायी समिति बैठक बस्दै, प्रधानमन्त्रीलाई पार्टी सदस्यबाटै हटाइने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध सडक संर्घषको नेतृत्व गर्दै आइरहेको नेकपाको स्थायी समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बैठक मध्यान्ह साढे १२ बजेका लागि बोलाइएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, आजको बैठकमा आन्दोलनको समीक्षा, संगठनात्मक काम कारबाहीलगायतका विविध विषयमा छलफल हुने कार्यसूची तय भएको छ । बैठकको तयारीका लागि शनिबार दिउँसो पेरिसडाँडामा अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्यहरु पम्फा भुषाल, कृष्णबहादुर महरा, मात्रिका यादवलगायतका नेताहरुका बीचमा अनौपचारिक छलफल भएको थियो ।

आजको बैठकमा आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रमका विषयमा पनि योजना बन्न सक्ने बताइएको छ । आजको बैठकमा ओलीलाई साधारण सदस्यबाट समेत निश्कासन गर्ने विषयमा पनि छलफल हुने देखिएको छ । ओलीलाई नेकपाको प्रचण्ड नेपाल खेमाले साधारण सदस्यबाट समेत किन नहटाउने भन्दै तीन दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण पत्र यो समूहले प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा बुझाएका थिए । ओलीको स्पष्टीकरण नआएको भन्दै आइतबारको बैठकबाट ओलीलाई साधारण सदस्यवाट समेत हटाउने निर्णय नेकपाले लिने देखिएको छ ।

असंवैधनिक रुपमा प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि नेकपाले पार्टी अध्यक्ष समेत रहेका ओलीलाई झण्डै ७० प्रतिशत केन्द्रीय सदस्यको उपस्थितिमा अध्यक्षबाट हटाउने निर्णय गत पुस ७ गतेको बैठकले लिएको थियो । ओलीलाई अध्यक्षबाट हटाएपछि पार्टी विद्यानको ब्यवस्थाअनुसार वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय पनि नेकपाले लिइसकेको छ ।

अध्यक्षबाट हटाएर केन्द्रीय समितिमा सीमित गरे पनि ओलीले अझै अध्यक्षकै रुपमा आफूलाई परिचालित गरेको, गुटवादी क्रियाकलाप नरोकेको कारण स्पष्टीकरण सोध्ने निर्णय नेकपाको स्थायी समिति बैठकले गरेको थियो । तर ओलीले त्यस स्पष्टीकरणलाई नदेखेकोजस्तो गदै आइरहेका छन् । सोही कारण आजको बैठकले उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने सम्भावना रहेको नेताहरुको भनाइ छ ।

त्यस्तै बैठकले पार्टी महासचिवका विषयमा पनि छलफल गर्ने सम्भावना छ । यस अगाडी महासचिव रहेका विष्णु पौडेललाई पनि गत स्थायी समिति बैठकले महासचिवबाट हटाउने निर्णय लिएको थियो । उनले पनि गुटवादी काम मात्रै गरेको कारण उनलाई महासचिवबाट हटाउने निर्णय प्रचण्ड नेपाल पक्षले लिएका थिए । पौडेललाई हटाउने निर्णय गरेपछि नयाँ महासचिव कसलाई बनाउने भन्नेमा पनि अनौपचारिक छलफल चलेको छ । महासचिवका लागि सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुषाल, वर्षमान पुन, जर्नादन शर्मा र कृष्णबहादुर महरालगायत नेताहरुको नाम चर्चामा छन् । 

 

प्रतिक्रिया दिनुहोस