नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र केबल प्रयोग गरी सेवा विस्तार गर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकका लागि नयाँ भाडादर तय गरेको छ ।
प्राधिकरणले माघ २ देखि लागू हुने भन्दै नयाँ भाडादर तय गरेपछि यसले इन्टरनेटको मूल्य बढ्न सक्ने व्यवसायीको चेतावनी छ ।
प्राधिकरणले आफ्नो अप्टिकल फाइबर र पोल प्रयोग गर्नेहरूलाई पुस २८ मा पत्र लेख्दै माघ २ देखि पुरानो सम्झौताको म्याद समाप्त हुने र नयाँ सम्झौता गर्दा नयाँ भाडादर लागू हुने भन्दै पत्र लेखेको हो । प्राधिकरणको पत्रअनुसार ६६ केभी र ३३ केभी वा त्योभन्दा कम भोल्टेज स्तरको प्रसारण लाइनमा भएको अप्टिकल फाइबरको भाडादर दोब्बर बनाइएको छ ।
प्राधिकरणको ६६ केभी र त्योभन्दा माथिल्लो भोल्टेज स्तरको प्रसारण लाइनमा जडित फाइबर कोरको प्रतिकिमि प्रतिवर्ष प्रतिफाइबर कोरको भाडादर करबाहेक ३२ हजार रुपैयाँ लाग्ने पत्रमा उल्लेख छ ।
यस्तै ३३ केभी र त्यसभन्दा मुनिको भोल्टेज स्तरको वितरण लाइनमा जडित फाइबर कोरको हकमा प्रतिकिमि प्रतिवर्ष फाइबर कोरको भाडादर करबाहेक ३० हजार रुपैयाँ लाग्ने पत्रमा उल्लेख छ ।
प्राधिकरणको वितरण र प्रसारण लाइनमा जडित फाइबर प्रयोग गरेबापत लाग्ने भाडादर दोब्बर बढेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ माघ २०७७, ०७ : ००
लेखकबाट थप