के छ प्रचण्ड–नेपालले ओलीलाई सोधेको स्पष्टीकरणमा ?

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, ०६ : ३१
के छ प्रचण्ड–नेपालले ओलीलाई सोधेको स्पष्टीकरणमा ?

नेकपाको प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने तयारी थालेको छ ।

सो समूहले सोमबार प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोधिएको पत्र बालुवाटार पुर्याएको छ । पत्रमा ओलीले पार्टी निर्णयको उलंघन गर्दै पार्टी विरोधी गतिविधि गरेको आरोप लगाइएको छ भने स्पष्टीकरणका लागि ३ दिनको मौका दिइएको छ । 

प्रचण्ड नेपाल समूहले माघ २ गतेको स्थायी समिति बैठकको निर्णयअनुसार ओलीलाई स्पष्टीकरण सोधिएको बताइएको छ । 
ओलीलाई सोधिएको स्पष्टीकरणमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हित विपरित र पार्टी विरोधी गतिविधि गरिरहनु भएकाले तपाईलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन किन नगर्नेग्́ भन्ने स्पष्टीकरण सोधिएको छ ।

उनलाई विधानको धारा ५६ (ख) को उपधारा १० बमोजिम स्पष्टीकरण सोधिएको तथा बालुवाटारमा पत्र टाँस गरिएको मितिले ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । 

स्पष्टीकरण चित्तबुझ्दो नदिएमा थप कारबाही गरिने प्रचण्ड र नेपालले हस्ताक्षर गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस