काठमाडौं । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।
‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो।
यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो। आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए। नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए। सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्यायो। अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो।
यसको पुनःनिर्माणका लागि पाँच वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन्। राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण यसै वर्ष सम्पन्न भएको छ।
दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ। यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीकोसमेत आयोजना गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम नेपालमा भूकम्पको चेतावनी
भूकम्पमा परी मानवीय क्षति छैनः प्रशासन कार्यालय, बाजुरा
बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
बझाङमा लगातार दोस्रो दिन भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प