राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना गर्नुको विकल्प छैन : अध्यक्ष राणा

रासस

शुक्रबार, १७ पुस २०७७, २० : ०८
राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना गर्नुको विकल्प छैन : अध्यक्ष राणा

फाइल तस्विर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापना गर्नु पर्ने बताएका छन् ।

‘जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम उन्नत प्रजातन्त्रका निम्ति राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना गर्नुको विकल्प छैन । समय र जनताको माग यही नै छ,’ अध्यक्ष राणाले राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै भने ।

स्थीरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको भन्दै नेकपा सरकारको राणाले आलोचना गरे । अहिले आएर नेकपा मात्र नभएर, बस्तुगत रुपमा एमाले नै दुई फ्याक भएको अवस्था छ, उनले भने ।

राजसंस्था र हिन्दुराष्ट्र पूनःस्थापनाको माग गर्दै राप्रपाले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेको हो । राप्रपाले राजसंस्थालगायत सबै अट्ने गोलमेच सम्मेलन, कोरोना महामारीको सबल व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगारी लगायतका माग अघि सारेको छ । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सोही अवसरमा लुटाहा सरकारका कारण नेपाली जनताले दुःख पाएको बताए ।

विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष लोहनीले केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघठन गरेको भन्दै कडा आलोचना गरे । संसद विघठन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको उनले बताए ।

अराजक परिस्थितिबाट मुक्ति पाउन सबै दलहरुको मनस्थितिमा परिवर्तन आउनु आवश्यक रहेको बताए । लोहनीले राजसंस्था र हिन्दुराष्ट्र पूनःस्पाना गरेर राष्ट्रियता र विकासको महाअभियानमा आरम्भ गर्नु पर्ने बताए । 

राष्ट्रिय चरित्रका सबै शक्ति र संस्थाहरुलाई स्थान दिन प्रजातान्त्रिक र देशभक्तहरुबीच नयाँ संवाद र वृहत प्रजातान्त्रिक एकता कायम गर्नु आजको आवश्यकता हो, लोहनीले भने । भृकुटीमण्डपबाट सुरु भएको विशाल ¥याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस