किन आउँछ डन्डिफोर ? डन्डिफोरबाट छुटकरा पाउन अब गर्नुस् यी सरल उपाय

एजेन्सी

विहीबार, १६ पुस २०७७, १३ : १८
किन आउँछ डन्डिफोर ? डन्डिफोरबाट छुटकरा पाउन अब गर्नुस् यी  सरल उपाय

काठमाडौं । छालाको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये धेरैजसो डन्डिफोरले हैरान पारेको समस्या सुनाउँछन् । डन्डिफोरको समस्या नभोग्ने सायदै होलान् । जीवनकालमा अधिकांश व्यक्तिले डन्डिफोरको समस्या भोगेका हुन्छन् । तर, कतिपयले डन्डिफोरलाई सामान्य ठानेर हेलचेक्राइँ गर्दा गम्भीर समस्या निम्तिएका छन् ।

डन्डिफोरको समस्या लिएर उपचारमा आउने प्रायःजसो महिला हुन्छन् । डन्डिफोर सौन्दर्यसँग जोडिने भएकाले, महिलालाई चिन्ता लाग्नु स्वभाविक पनि हो । तर, कतिपयले आज आएको डन्डिफोर तुरुन्तै भोलिपल्ट निको होस्, अनुहार सफा होस् भन्ने चाहना राख्छन् । त्यसैले केही मानिस डन्डिफोरको उपचारका लागि धेरै डाक्टरकोमा धाउँछन् । पहिलो कुरा के बुझ्नुपर्छ भने, डन्डिफोर तुरुन्तै निको भइहाल्ने हुँदैन ।

सामान्यतया डन्डिफोर आउने बित्तिकै डाक्टरकहाँ गएर उपचार गराइहाल्नु पर्दैन । खासगरी डन्डिफोर किशोर वा युवा अवस्थामा आउनु सामान्य हो । यस्तोमा घरमै छालाको हेरचाह गर्दा हुन्छ । तर छालाको हेरचाह गर्दा पनि डन्डिफोर घटेन, दाग बस्न थाल्यो, झन् ठूलो हुँदै गयो भने चाहिँ चिकित्सककहाँ जानुपर्छ । डन्डिफोरकै कारण मानसिक तनाव पनि बढ्न थाल्छ । यस्तो समयमा छाला सम्बन्धी डाक्टरको सल्लाह अनुसार उपचार गर्नु राम्रो हो ।

सानो डन्डिफोर आएको छ र त्यसले खासै समस्या निम्त्याएको छैन भने घरमै अनुहार सफा गरेर हेरचाह गर्दा हुन्छ । धेरैलाई डन्डिफोर आएपछि धेरैपटक मुख धुनुपर्छ भन्ने भ्रम छ । तर, त्यति धेरै पटक मुख धुनु पनि पर्दैन । आफ्नो छालालाई सुहाउने वा उपयुक्त हुने फेसवासले दिनमा दुई पटक मुख धोए पुग्छ । धेरै गर्मी हुँदा, पसिना आउँदा, अनुहार चिल्लो हुँदा, हेलमेट लगाएर अनुहारमा पसिना आउँदा चाहिँ मुख धुनुपर्छ । चिल्लो, पसिना वा हेलमेटका कारण डन्डिफोर बढ्ने खतरा हुन्छ ।

डन्डिफोर के हो ?

छालामा आउने स–साना राता फोका डन्डिफोर हुन् । सामान्यतया छालाका प्वालमा संक्रमण भयो भने डन्डिफोर देखा पर्छ । छालामा रहेका मसिना प्वालमा अवरोध हुँदा वा संक्रमित हुँदा यो समस्या आउँछ । संक्रमणसँगै हर्मोनका कारणले पनि डन्डिफोर आउने गर्छ । तर, धेरैजसोमा छालाको प्वाल टालिएर हुने संक्रमणका कारण डन्डिफोर आउँछ । छालामा ‘पि–एक्नेस’ भन्ने ब्याक्टेरिया हुन्छ । जब छालाको प्वाल चिल्लो पदार्थ, पसिना, धुलो वा फोहोरले टालिन्छ तब उक्त व्याक्टेरिया आक्रामक भएर आउँछन् र डन्डिफोर देखापर्छ । ती ब्याक्टेरियाको संक्रमण बढी भयो भने डन्डिफोरबाट पिपजस्तो फोहोर निस्किन्छ । जब डन्डिफोर बारम्बार देखिन थाल्छ, यसलाई डन्डिफोर बिग्रेको भनिन्छ । यस्तो हुनुका धेरै कारण हुन्छन् । डन्डिफोर बारम्बार आउने भएमा चिकित्सकलाई देखाउनुपर्छ । बेलैमा उपचार नगरे छालामा नराम्रो दाग बस्न सक्छ ।

किशोरावस्थामा हर्मोनमा हुने परिवर्तनसँग छालाले आफूलाई अनुकूल बनाउन खोज्छ । यद्यपि, धेरै किशोर–किशोरीमा डन्डिफोर बिग्रेर घाउ हुने गर्छ । महिलाको अनुहारमा महिनावारीको समयमा डन्डिफोर बढी आउँछ । महिनावारीको बेला उनीहरूमा हर्मोन परिवर्तन हुने र चिल्लो पदार्थका कारण छालाको प्वाल टालिने हुँदा डन्डिफोर धेरै देखिने गरेको हो । डन्डिफोर बिग्रिएर घाउ हुने अवस्थामा पुग्नुअघि नै उपचार गराउनु उपयुक्त हुन्छ । छाला हाम्रो शरीरका भित्री अंगलाई संरक्षण गर्ने कवच हो । त्यसकारण उक्त कवचलाई जोगाउन विशेष ख्याल गर्न आवश्यक छ ।

त्यसैले डन्डिफोरबाट छुटकारा पाउन सबैभन्दा पहिले खानपानमा विशेष ध्यान दिनु जरुरी छ । 

- जो व्यक्तिमा डन्डिफोरको समस्या छ त्यस्ता व्यक्तिले घ्यू  र तेलको सेवन कम गर्नुपर्छ । हामीले खाने खानामा जति धेरै तेल छ त्यति नै बढी डन्डिफोर आउने सम्भावना हुन्छ । 

- मामंसाहारी भोजनले पनि डन्डिफोरको समस्या आउन सक्छ । मासुजन्य खानेकुराले पेट सफा नहुने भएकाले डन्डिफोरको समस्या बढ्न सक्छ । 

- चुरोट, खैनी जस्ता नशालु पदार्थले छालासम्बन्धी विभिन्न रोगहरु निम्त्याउँने भएकाले यसले डन्डिफोरको समेत समस्या ल्याउँछ । 

- धेरै मात्रामा चिया र कफि सेवन गर्ने व्यक्तिहरुमा डन्डिफोरको समस्या आउन सक्छ । यसको सेवनले शरीरमा सीबम बन्ने र जसको कारण डन्डिफोर आउने गर्छ । 


 

प्रतिक्रिया दिनुहोस