नेकपाको स्थायी समिति बैठक प्रभावित, रावल र भुसाल पुगे शितलनिवास

सफल खबर संवाददाता

बुधबार, ०१ पुस २०७७, १४ : २१
नेकपाको स्थायी समिति बैठक प्रभावित, रावल र भुसाल पुगे शितलनिवास

फाइल तस्विर

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रभावित भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली सहभागी नभइदिएपछि बैठक प्रभावित भएको हो । 

यसैबीच, बैठक प्रभावितकै बेला नेकपाका दुई नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षरसहित स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ  । 
यही विवादका कारण स्थायी समिति बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले नेताहरु राष्ट्रपतिलाई भेट्नका लागि शीतल निवास आएको पुष्टि गरे । 

समाचार स्रोतका अनुसार शीतल निवासमा भागाभाग भएको छ । हस्ताक्षर दर्ता गर्ने मान्छे नभएपछि नेताहरु अलमलमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस