फेवातालमा मापदण्ड मिचेर बनाईएका संरचना हटाइए

पत्रपत्रिकाबाट

सोमबार, २९ मंसिर २०७७, ०७ : ४१
फेवातालमा मापदण्ड मिचेर बनाईएका संरचना हटाइए

गण्डकी । फेवातालमा मापदण्ड मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर लगाएर हटाएको छ । शुक्रबार बनाइएका संरचना महानगरले शनिबार दिउँसो डोजर लगाएर हटाएपछि स्थानीयले शनिबार राति पुनस् संरचना निर्माण गरेका थिए ।

ताल वरिपरी रहेको जमिनमा निलो पर्दा लगाएर घेरा बनाई संरचना निर्माण गरिएको संरचना आइतबार महानगरले पुनस् डोजर लगाएको हो ।फेवातालको पश्चिम उत्तरतर्फ पर्ने पोखरा महानगर–१८ खपौदीस्थित स्थानीय खगराज आचार्यको जग्गामा व्यवसायी दिपेश श्रेष्ठले अवैधरुपमा संरचना निर्माण गरेका थिए । आचार्यसँग श्रेष्ठले उक्त जग्गा लिजमा लिइएको जनाइएको छ । बिना जानकारी संरचना निर्माण गरेको भन्दै सोही वडाका वडाध्यक्ष रणबहादुर थापाले महानगरको कार्यालयमा जानकारी दिँदै संरचना भत्काउन डोजर मगाएको बताए ।

महानगर प्रहरी, स्थानीय, नेपाल प्रहरी र महानगरको प्रतिनिधित्वमा डोजर लगाइएको वडाध्यक्ष थापाले जानकारी दिए । उक्त जग्गामा प्याराग्लाइडिङ ल्याण्डिङ गरिन्छ । सो जग्गामा रेष्टुरेन्ट बनाउनका लागि दुई पक्षबीच लिजमा सम्झौता भएको वडाध्यक्ष थापाले बताए । आचार्यले प्याराग्लाइडिङ ल्याण्डिङ गरेबापत विभिन्न प्याराग्लाइडिङ कम्पनीबाट भाडा लिने गरेका थिए । ‘संरचना पनि पानीको भित्री सहतदेखि नै निर्माण गरिएको छ,’ थापाले भने, ‘हामीले शनिबार संरचना भत्काएर छाड्यौ । रातारात निर्माणधीन सामान ल्याएर पुनः खडा गरेछन । फेवाताल हाम्रो पहिचान हो । यसलाई जोगाउनुपर्छ भन्ने भावना कसैको छैन ।’

उनले व्यक्तिगत स्वार्थमा संरचना निर्माण हुन थालेको बताए । यसो त, संरचना नहटाउनको लागि वडाध्यक्ष थापा लगायतलाई उच्चस्तरीयको टेलीफोन समेत आएको छ । फेवाताल संरक्षण गर्नको लागि सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारले कार्यान्वयनमा ढिलाइ गर्दा भूमाफियाहरुले ताल किनारमा अवैध संरचना बनाउने कामलाई तीव्रता दिएका छन् ।

फेवातालमा ६५ मिटर मापदण्ड लागू गरिएको छ । तर फेवाताल भित्रैबाट संरचना बनाएपछि यसको विरोध भएको हो । आचार्यको भन्दा करिब ४० मिटर पश्चिमतर्फ पछिल्लो १ महिनामा २ वटा संरचना बनिसकेका छन् । पछिल्लो ६ महिनामा १० वटा अवैध संरचना बनेको वडाध्यक्ष थापाले बताए । उनका अनुसार पछिल्लोसमय यस क्षेत्रमा मापदण्ड मिचेर अवैध संचरना निर्माण गर्ने होडबाजी नै चलेको छ । यसलाई तत्काल रोक्न नसके समस्या पैदा हुने उनले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस