यी दश कुरामा विश्वास गर्छन् विश्वका सर्वाधिक धनी जेफ बेजोस

एजेन्सी

बुधबार, २४ मंसिर २०७७, १० : २८
यी दश कुरामा विश्वास गर्छन् विश्वका सर्वाधिक धनी जेफ बेजोस

काठमाडौं । अमेजोनका मालिक जेफ बेजोस संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । 

सुरुमा ग्यारेजमा आधारित किताबको स्टोरलाई उनले आज विश्वकै सबैभन्दा सफल कम्पनी, अमेजोनमा परिणत गरेका छन् । र यो यात्रा पूरा गर्न बेजोसले धेरै जोखिम लिए, धेरै रणनीति बनाए, महत्वाकांक्षी मानसिकता राखे र नवीनतालाई सधैँ प्राथमिकता दिएर काम गरे । उनका व्यक्तिगत सिद्धान्तले नै अमेजोनलाई महामारी जस्तो विश्व संकटका बेलामा समेत सफल व्यवसाय कायम गर्न मद्दत गरेको छ । 

यिनै बेजोसकाको सोचाइ, उनका विश्वास र मान्यताहरुका बारेमा संचारकर्मी डेभिड बेकरले खुलासा गरेका छन् । बेजोसले यी दश कुरालाई आत्मसात् गरि काम गर्ने गरेका छन्:

१. चिन्तन र रचनात्मक क्षमतामार्फत जस्तोसुकै समस्या समाधान गर्न सकिन्छ ।

बेजोसले सानो हुँदैदेखि नवीनताको शक्तिलाई चिनेका थिए । गर्मीयाममा आफ्नो हजुरबुवाकहाँ छुट्टी मनाउँदा उनीहरुले आफ्नो सानो फार्ममा मर्मत आवश्यक पर्ने सबै काम अरु कसैलाई नबोलाइ आफैँ ठीक गर्ने गर्दथे । उनका हजुरबुवा एकदमै आत्मनिर्भर किसिमका व्यक्ति थिए जसकारण कतिपय ठुल्ठुला काम जस्तै पुरानो ट्रयाकटरलाई पुनःनिर्माण गर्न समेत उनी आफैँ लाग्ने गर्दथे । त्यसबीच उनलाई हेरेरै बेजोसले पनि धेरै कुराहरु सिके । समस्या जति ठूलो भएपनि सोच विचार अनि सिर्जनात्मक क्षमता मार्फत समाधान गर्न सकिँदो रहेछ भन्ने उनको मनमा सानैदेखि छाप बस्यो । उनले ती दिनका कुराहरु अझैपनि विभिन्न अन्र्तवार्तामा सुनाउने गरेका छन् । 

२. हरेक दिन पहिलो दिन हो 

शेयरहोल्डरहरुलाई बेजोसले लेखेको पत्र अमेजोनको प्रत्येक वार्षिक रिपोर्टमा राखिएको हुन्छ । र त्यसमा विशेषगरी एउटा वाक्यांशलाई बढी हाइलाइट गरिएको पाइन्छ – ‘हरेक दिनलाई कामको सुरुको दिन अर्थात पहिलो दिनका रुपमा सोच्ने’ । यसको अर्थ हरेक दिन, हामीले  सफलता र नयाँ खोजका लागि पहिलो दिन जत्तिकै भोको हुन जरुरी छ । बेजोसले कुनैपनि दिनलाई सामान्य रुपमा लिन सकिने विकल्प राख्दैनन् । 

३. पछाडिबाट काम गर्ने, अगाडिबाट स्केल गर्ने 

हाभर्ड बिजनेस स्कुलका अर्थशास्त्री सुनिल गुप्तले अमेजोनले जसरी नयाँ उत्पादन र सेवाहरु सिर्जना गरिरहेको छ, त्यो प्रक्रियालाई ‘वर्क ब्याकवार्ड एण्ड स्केल फरवार्ड’ भनेर व्याख्या गरेका छन् । यसको अर्थ कामलाई पछाडिबाट या अन्त्यदेखि सुरु गरेर सुरुवातमा पुग्नु हो । जस्तै अमेजोनले ग्राहक के चाहान्छन् भन्ने सोच्दैगर्दा यही नीति अपनाउँदै पहिले त्यसलाई कसरी डेलिभर गर्ने भन्ने योजना बनाउँछ र कम्पनीसँग त्यो क्षमता नभए सुरुमा त्यसमा काम गर्छ । त्यस्तै अगाडितर्फ स्केल गर्नुको अर्थ चाहिँ त्यो सेवा प्रदान गर्ने क्षमतालाई पछि आफ्नो फाइदाका लागि कसरी नयाँ व्यवसायमा परिणत गर्ने भन्ने हो । 

४. प्रयास गरेको कुराप्रति कहिल्यै पछुतो लाग्ने छैन 

असफल हुनसँग नडराउनु भनेको पछुतोको भावनालाई पनि स्वस्थ रुपमा हेर्नु हो । बेजोसले, ‘एक्सेल स्प्रिंगर कम्पनी’ का सिइओ, मेथिआस डोप्नरसँग दिएको अन्र्तवार्ताामा भनेका छन्, “हामीले ८० वर्ष पुग्दा केकस्ता कुरामा पछुतो लाग्ला भन्ने सोच्यौँ भने, ती सबै वास्तवमा हामीले प्रयास नगरेका कुराहरु मात्र हुनेछन् । अर्थात ती काम गर्नमा हामी चुक्यौँ र त्यसको परिणाम अब हामीलाई कहिल्यै थाहा हुनेछैन । तर हामीले, त्यसमा काम गरेका थियौँ या प्रयास भएपनि गर्यौँ भने चाहिँ असफल भएपनि वा नतिजा सोचेजस्तो नआएपनि यसप्रति बिरलै पछुतो लाग्नेछ । ”

५. जोखिम उठाउनबाट पछि नहट्ने

सन् २००० मा ‘डटकम’ को सफलता अनियन्त्रित बिन्दुमा रहेका बेला बेजोसले त्यस बाहिरका विक्रेताका लागि अमेजोन खोलेर ठूलो जोखिम उठाएका थिए र यो कदम बेजोसको जीवनकै अधिक महत्वपूर्ण साबित भयो । उनी, त्यस समय फस्टाउँदै गएको अरु नै व्यवसाय जस्तै मोबाइल फोनमा लाग्न सक्थे । तर उनले जुन किसिमको जोखिम उठाए त्यसैले उनलाई आजको स्थानसम्म पुर्याएको छ र त्यो दिन अहिले उनका लागि राम्रो अनुभव बनेको छ । अमेजोनका पूर्व अधिकृत जोन रसमनका अनुसार बेजोसलाई आफू कुन दिशामा जाँदैछु भन्ने थाहा नभएपनि त्यसबारे निर्णय लिँदैगर्दा उनी अत्यन्तै खुसी हुने गर्दछन् जसको एउटा उदाहरण हो ‘एलेक्सा’ । 

६. फेरि फेल हुने, अझ राम्ररी फेल हुने 

बेजोस निकटका व्यक्तिहरुले उनी जोखिम उठाउन मात्र नभएर असफल हुनबाट पनि नडराउने गरेको बताउँछन् । बेजोस आफैँले भनेका छन्, “हामी धेरैपटक असफल भएका छौँ । तर मैले सधैँ हामीलाई फेल हुन उचित ठाउँका रुपमा सोच्ने गरेको छु किनकी हामी असफल हुनमा पनि राम्रो छौँ, हामीसँग त्यसको पनि धेरै अभ्यास छ । ”

७. ग्राहक सधैँ सहि हुन्छन् 

हातैले किताबहरु घुँडामा राखेर प्याक गरेको अनुभव देखि नै बेजोसले ग्राहकलाई सबैभन्दा बढी प्राथमिकतामा राख्ने गरेका छन् । अमेजोनका पूर्व निर्देशक टम अल्बर्गले बेजोसका बारेमा व्याख्या गर्दा ‘उनी जन्मदैखेरि ग्राहकको सेवा गर्ने जिन लिएर आएको’ भन्ने गरेका छन् । टम भन्छन् , “बेजोस दुनियाँमा बदलाव ल्याउन चाहान्छन् तर उनको मनमस्तिष्कमा ग्राहकहरुलाई सन्तुष्ट गराउने कुरा बसेको छ । र धेरै पैसा भयो भने ग्राहकका लागि अझ धेरै गर्न सकिने उनको मानसिकता छ । ”
रिटेल विश्लेषक नेताली बर्गले व्यवहारिक रुपमा यसले कसरी काम गर्छ भनेर व्याख्या गरेकी हुन्, “यसमा सबैभन्दा पहिले ती ग्राहकहरुमा ध्यान दिने जसले साइटमा अझ धेरै ग्राहकहरुलाई आकर्षित गर्नेछन् जसले बदलामा अधिक विक्रेताहरुलाई पनि आकर्षित गर्छ, जसले फेरिपनि ग्राहकहरुको अर्को ठूलो छनोटलाई आकर्षित गर्नेछ र अन्ततः ग्राहक अनुभव वृद्धि गराउनेछ । र यही पक्रिया बारम्बार दोहोरिरहनेछ । ”

८. मनमा कुरा नराखि बोल्ने 

बेजोसको आत्मकथाका लेखक ब्राड स्टोनले अमेजोनलाई अरु कम्पनी भन्दा धेरै फरक भएको चर्चा गरेका छन् । स्टोनले लेखेका छन्, “प्रायः संस्थाहरु सक्रिय रुपमा बहस गर्ने गर्दैनन् र आफ्नो पद हेरेर बोल्नबाट पछि हट्ने गर्दछन् । त्यसैले उनीहरुले निर्णयकर्तालाई सम्मान गर्न सक्दैनन् र आफू असहमत भएपनि त्यसबारे चुप लागिरहन्छन् जसकारण सो निर्णयलाई सफल बनाउन पूरै मनले काम गर्दैनन् ।” अर्कोतर्फ आफ्नो धारणा राख्ने र बोल्ने कुरामा बेजोसले सधैँ सबैबाट इमान्दरीपूर्ण बहसको अपेक्षा गर्ने गरेको उनले बताए । 

९. प्रतिस्पर्धा गर्ने

बेजोसले सधैँ आफ्नो काममा शक्तिशाली प्रतिस्पर्धात्मक भाव ल्याउने गरेका छन् । ब्राड स्टोनले यसको उदाहरण दिँदै भने, “एलेक्सा त्यस बेला निर्माण गरिएको थियो जससमय एप्पलले ‘सिरि’ निकालिसकेको थियो भने गुगलले पनि आवाज पहिचान प्रणालीको राम्रो क्षमता प्रस्तुत गरिसकेको थियो । त्यसैले यो ‘क्याटेगोरी’ मा अमेजोन अग्रता हासिल गर्न योग्य थिएन । तरपनि उनले एलेक्साको सबै काम जारी राखे, अमेजोनका प्रतिस्पर्धीहरुलाई यसको नजिक आउन नदिनका लागि तत्कालै एलेक्साको विभागमा १० हजार कर्मचारी खटाए । 

१०. दीर्घकालीन भविष्यलाई हेर्ने 

बेजोस र अमेजोनको सफलताका पछाडि दीर्घकालीन नीतिको ठूलो हात छ । जोन रोसमन भन्छन्, “कुनै पनि काममा प्रगति भइरहेको छ भने, त्यस नयाँ क्षेत्रबाट कमाइ गर्न दशै वर्ष लागेपनि बेजोस यसमा काम गरिरहन तयार छन् ।” 
जस्तै अहिले उनी अन्तरिक्ष बसाइँको अपेक्षा सहित त्यसको संरचना निर्माणको दिर्गकालीन परियोजनामा लागिरहेका छन् । आफ्नो ‘एरोस्पेस फर्म ब्लु ओरिजिन’ को एक समारोहमा बोल्दै उनले भनेका हुन्, “पृथ्वी सीमित छ र यदि अहिलेकै स्तरमा विश्व अर्थतन्त्र र जनसङ्ख्या बढिरहने हो भने हामी अघि बढ्ने उपाय अन्तरिक्ष मात्र हुनेछ । ” बीबीसी 

प्रतिक्रिया दिनुहोस