सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको छ : राज्यमन्त्री मानन्धर

सफल खबर संवाददाता

सोमबार, १५ मंसिर २०७७, १३ : ३८
सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको छ : राज्यमन्त्री मानन्धर

फाइल तस्विर

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

सोमबार गुरु नानक जयन्तिका अवसरमा काठमाडौंको बालाजु म्हेपीमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको व्यवस्थापनका लागि काम गरिरहेको बताएका हुन् ।

मानवताका लागि र मानव सभ्यताको विकासका गुरु नानकले देखाएको मार्गदर्शन अवलम्वन गर्न सक्नुपर्नेमा मन्त्री मानन्धरको जोड छ । राजधानी काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन विताइरहेकाहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तिब्रता दिइने मन्त्री मानन्धरले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुरुप सडक मानव मुक्त अभियानलाई तिब्रता दिइएको बताउँदै मन्त्री मानन्धरले काठमाडौंमा उद्दार गरिएकाहरुलाई व्यवस्थित रुपमा बसोबास गराउनका लागि आश्रम निर्माण थालिने बताए । 
मन्त्री मानन्धरले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको जीवन रक्षा र जिवीकोपार्जनसहित आगामी दिन सहज बनाउने दायीत्व राज्यको भएकाले सरकारले उनीहरुको उचित व्यवस्थापन गर्ने बताए । 

सरकारले काठमाडौंको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको जानकारी दिंदै मन्त्री मानन्धरले व्यवस्थीत रुपमा आश्रम निर्माण हुने दाबी गरे ।  

प्रस्तावित निर्माण स्थलको आइतबार मात्रै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित मन्त्री मानन्धरको टोलीले अवलोकन गरेको थियो । 
मन्त्री मानन्धरले अभिभावकबिहीन नागरिकको अभिभावकका रुपमा सरकार रहेको बताए । मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको बिशेष चासो र निर्देशन बमोजिम सडक मानवमुक्त अभियान सञ्चालन भइरहेको बताउँदै उद्दार गरिएकाहरुलाई व्यवस्थित बसोबासको प्रवन्ध हुने बताए। बेसहारा र अलपत्र नागरिकको जिम्मेवारी राज्यले लिने बताउँदै मन्त्री मानन्धरले कसैले पनि बेसहारा भएको र एक्लो परेको महशुस हुन नदिइने बताए। प्रधानमन्त्री ओलीको विशेष चासोका रुपमा रहेको सडक मानव मुक्त अभियानलाई सफल बनाउन सबैले साथ दिनुपर्नेमा मन्त्री मानन्धरको जोड थियो ।
मन्त्री मानन्धरले समृद्ध नेपाल सुखी नेपालीको नारा व्यावहारमा उतार्न बर्तमान सरकार क्रियाशील रहेको बताउँदै नागरिकको जीवनस्तर उकास्ने काम भइरहेको बताए । समृद्धि हासिल गर्नका लागि थप मेहनतको आवश्यकता परेको बताउँदै कोरोना महामारीबीच पनि सरकारले विकास आयोजनाहरुलाई तिब्रता दिइरहेको जानकारी दिए। 
शहरी क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले गुरुयोजनासहित काम गरिरहेको बताउँदै देशभरका शहरउन्मुख क्षेत्रहरुमा आवश्यक प्राविधिसहित व्यवस्थित शहरिकरण गरिने बताए । 
पार्टी भित्रको आन्तरिक विवाद केही समयमै समाधान हुने बताउँदै मन्त्री मानन्धरले सरकारलाई थप बलियो बनाउनेगरी छलफल अघि बढ्ने बताए । स्थिर सरकार र दिगो विकासका लागि जनताले नेकपालाई जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धि हासिल हुने दाबी समेत गरे । मन्त्री मानन्धरले ठुला पूर्वाधारका आयोजनाहरु र समृद्धिको आधारका रुपमा रहेका गौरवका आयोजनाहरुको काम धमाधम भइरहेकाले केही समयमै परिणाम देखिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस