कार्तिक नाचको लागि वडाबाटै १० लाख

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १५ : ४४
कार्तिक नाचको लागि वडाबाटै १० लाख

ललितपुर । ललितपुर महानगरपालिका– १६ ले कार्तिक नाचको अक्षय कोषको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ ।

वडाअध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राति बराह नाच देखाउनु अघि कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । सोही क्रममा वडाले सम्पूर्ण खर्च व्यहोरेर बनाइएको चाँदीको नयाँ मुकुट पनि हस्तान्तरण गरिएको थियो ।

बराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेको नयाँ मुकुट तयार पारिएको हो । १६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो ।

सो अवसरमा वडाअध्यक्ष शाक्यले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको कार्तिक नाच चिरस्थायी होस् भनेर नयाँ मुकुट र १० लाख रुपैयाँ प्रदान गरिएको बताए । सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृतिको लोपोन्मुख रहेको चर्चा गर्दै वडाअध्यक्ष शाक्यले ती संस्कृतिको पुनःजीवन र चिरस्थायीका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

वडाअध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धता अनुरुप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरुको उत्साह बढाई दिएको समितिका अध्यक्ष चित्रकारले बताए । ‘संस्कृति संरक्षण गर्नु धेरै गा¥हो छ । यसका लागि सबैको साथ र सहयोग चाहिन्छ । संस्कृति संरक्षणमा वडाले एउटा उदाहरण पेश गरेको छ ।’ अध्यक्ष चित्रकारले भने । मुकुट हस्तान्तरणपछि बराहले नयाँ मुकुट लगाएर वराह नाच प्रस्तुत गरेको थियो ।

बराहले लगाउने मुकुट सय वर्षपछि फेरिएको समितिका प्रचारसंयोजक सञ्जयशर्मा राजोपाध्यायले बताए ।

शनिबार नरसिहं अवतार देखाउँदै कार्तिक नाच समापन गरिने छ । कोरोनाका कारण यस वर्ष दुई दिन मात्र कार्तिक नाच देखाइएको हो ।

प्रतिक्रिया दिनुहोस