पार्टीभित्रको चरम अराजकताका कारण पार्टी फूटको संघारमा : मन्त्री भुषाल

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १२ : १०
पार्टीभित्रको चरम अराजकताका कारण पार्टी फूटको संघारमा : मन्त्री भुषाल

चितवन । कृषिमन्त्री घनश्याम भुषालले पार्टीभित्रको चरम अराजकताका कारण पार्टी फूटको संघारमा पुगेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अगुवा कार्यकर्ता भेलालाई शनिबार पार्टी कार्यालय मदननगरमा सम्बोधन गर्दै मन्त्री भुषालले यस्तो बताएका हुन् ।

‘पार्टीभित्रको चरम अराजकताका कारण पार्टी फूटको संघारमा पुगेको छ’ मन्त्री भुषालले भने, ‘यो अवस्थामा फूटलाई जोगाउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूरै सच्चिनु पर्छ ।’ 

मन्त्री भुषालले पार्टीबीचको अहिलेको द्वन्द्व र विवाद विधि र पद्धतिले समाधान हुने बताए । यसलाई घरभित्रको झगडाको रुपमा लिन समेत उनले आग्रह गरे ।

कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा मन्त्री भुषालले पार्टी मिलनको स्पस्ट खाका भने पस्किन सकेनन् । प्रस्ट र वैचारिक नेताको छवि बनाएका भूसालको विचार र प्रष्टतालाई मन्त्री पदको लोलुपताले भूत्ते बनाएको भन्दै सहभागी कार्यकर्ताहरूले खासखुस गरेका थिए ।

यसअघि भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भुसालले कृषि र उपभोक्ताबीचको समस्या समाधान गरिने दाबी गरे । उनले कृषि उपजको विचौलियाको न्यूनिकरणको लागि काम शुरु भएको पनि बताए ।  ‘हामीले प्रयत्न गर्दैछौं । हामी जुन ठाउंँमा छौं ठीक ठाउंँमा छौं । भविष्य राम्रो छ’ उनले भने ।

नेपालमा कृषि क्षेत्रले फड्को मार्दै गएपनि विचौलियाका कारण कृषक मारमा परेको र उपभोक्ताले चर्कोमुल्यमा खरिद गर्नुपरेका कारण यसको समाधान गरिने मन्त्री भुषालले बताए । कृषि क्षेत्रमा भएको बेथिति र अनियमिततालाई कारवाही गर्न आफू आएको मन्त्री भुषालको भनाई थियो । उनले कृषि आधुनिकिकरणका लागि सरकारले प्रयत्न गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस