काठमाडौँ । सपना रोकामगर हो उनको नाम । १८ वर्षमा उक्लिएकी सपनाको जीवनलाई यतिबेला पढ्ने हो भने सपनाजस्तै लाग्छ । कुनै समय बुटवलको सडकमा माग्दै खाने सपना आज बिबिसीको १०० प्रभावसाली महिलाको सूचीमा परेको खबर जोकोहीलाई पत्याउनै मुस्किल हुन्छ ।
तर वास्तवमा त्यही हो, म्याग्दीकी दुर्गम गाउँमा हुर्किएकी सपना आज विश्वकै चर्चित नारी भएकी छन् । बिबिसीको १०० प्रभावसाली महिलाको सूचीमा परेर आफ्नो नाममात्र होइन, परिवार, नेपाल र नेपालीको शान बढाएकी छन् ।
म्याग्दीको दुर्गम मंगला गाउँपालिका ४ बुकीनीबाट एसईई पासपछि उच्च शिक्षा पढ्न जब सपना बेनी बजार झरिन्, त्यसपछि उनको जीवनमा उतारचढाप आउन थाल्यो । सुन्दर भविश्यको खोजी गर्न सदरमुकाम बेनीबजार आएकी सपना फेसबुकमार्फत प्रेममा परिन् । उनका बुबा जीतबहादुर र आमा तुलमायाले उच्च शिक्षा हासिल गर्न बेनी बजार पठाए, तर बाबुआमाको चाहनाविपरीत आफ्नो जीवनलाई लतारिन् । भविष्य नै भुलेर क्षणिक रमाइलोमा लागिन् । त्यही क्षणिक रमाइलोले उनलाई सडकमा पु¥याइदियो । जोसँग प्रेम गरिन्, त्यहीसँग भागिन् । अन्ततः तीन महिनामै उनको प्रेमलीला समाप्त भयो ।
बेनी बजार आएसँगै गाँसिएको छोटो पिरतीले सपनाको सपनालाई चकनाचुर पारिदियो । न त उच्च शिक्षा अघि बढ्यो, न बाबुआमाको चाहना नै पूरा भयो । सपना भन्छिन्, ‘मैले होस् गुमाएर प्रेममा परेँ, पिरतीको संसार दिगो बन्न सकेन, त्यो विहे होइन । अन्जानमा गरेको एउटा गल्ती लाग्छ अहिले ।’ पिरती बीचमै चुँडियो । बेनी बजार पढ्न आएकी केटी बुटवल आइपुगिन् । घर कुन मुख देखाउन जाने उनी फसाद्मा परिन् । अनि उनको आकाश छानो भयो, धर्ती विस्तारा भए ।
घरबाट झोलामा घ्यु र मिठा परिकार बोकेर बजार छिरेकी सपना एक गाँस तातो भातका लागि माग्दै हिँड्नुपर्ने अवस्था आयो । सडकका बालबालिका नै उनका साथी भए। सडक नै उनको घर भयो । जब उनी भोको हुन्थिन्, घरको यादले सताउथ्यो । न उनी घर जान सक्थिन्, न आफन्तलाई आफ्नो पीडा पोख्न सक्थिन् । यो सबको दोष उनले आफ्नो कर्म र भाग्यलाई यस्तो जिन्दगी के जीउनु भन्दै उनी धेरै पटक आत्महत्या गर्ने प्रयास गरिन् पनि । ‘यस्तो जिन्दगी पनि के बाँच्नु भनेर मर्नका लागि पनि धेरै प्रयास गरेँ’, उनले भनिन्, ‘तर हिम्मत हार्दिनँ भन्ने पनि भित्रभित्रै लागेको थियो ।
१५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्यायो । कुनै समय बुटवलको सडकमा भेटिने उनै सपनालाई बिबिसीले १०० प्रभावसाली महिलाको सूचीमा राखेको छ । सडकको त्यो जीवन सम्झँदा आज पनि उनको मनमा चिसो पस्छ । पीडा सुनिदिने मानिस कोही होस् । कसैले मेरो पीडा सुनिदिओस् भन्ने लाग्थ्यो । तर सडकको मान्छेसँग को बोल्न आउँथ्यो ? उनले प्रश्न गरिन् ।
यसरी मोडियो बाटो
सपनालाई साह्रै घरमा बुबा आमाको यादले सताउन थाल्यो । बुटवलको सडकबाटै आफन्तलाई फोन् गरिन् । आफन्तले घर आउन सल्लाह दिए ।
२०७४ सालको कुरा हो, सडकमा बस्न निकै गाह्रो भएपछि घर जाने आँट गरिन् सपनाले । त्यतिबेलासम्म सपनाले बुटवलका सडकमा तीन महिना बिताइसकेकी थिइन् । सपना घर पुगिन् । समाजले सपनाको खुब कुरा काटे । बाबुआमाले पनि उनलाई मायासहित गाली गरे । माफी मागेर सपना घरमै बसिन् । सपनालाई जीवनमा निकै ठूलो गल्ती गरेको महसुस गरायो ।
उनीसामु समाजमा आफूलाई असल मान्छे सावित गर्ने चुनौति थपियो । उनी गाउँकै रत्न उच्च माध्यामिक विद्यालयमा पढ्न थालिन् । छ महिनापछि आमा बाबाकै सल्लाहमा पोखरा पढ्न आइपुगिन् । उनले १२ कक्षा पास पनि गरिन् । उनले पोखरामै भेटिन् सलिना बस्नेतलाई । सलिनाका बाबा थिए, विनयजंग बस्नेत । सपनाले पनि विनयलाई बुवा भन्न थालिन् । सपना पोखराबाट काठमाडौँ आइन् । विनयजंगले पनि छोरी बनाएर घरमै राख्न थाले । सपनाले विनयजंगको कामबारे थाहा पाइन् ।
एक्सन फर सोसियल चेञ्जका अध्यक्ष विनयले विगत छ वर्षदेखि काठमाडौंका बेवारिसे शवको दाहासंस्कार गर्दै आएका थिए । त्यही बेवारिसे शवको दाहसंस्कारको काममा सपना होमिइन् । सपना भन्छिन्, ‘म पनि घर नफर्किएर त्यसैगरी सडकमा मृत्यु भएको भए मेरो शव कसले दाहसंस्कार गथ्र्यो ? आज बाँचेर आएँ, त्यसैले बुवासँगै काम गर्नुपर्छ भन्ने लाग्यो ।’
पशुपति आर्यघाटमै बेवारिसे शवको दाहसंस्कारमा लागिन् सपना । वृद्धवृद्धा, बालबालिकादेखि आफूजस्तै १८ वर्षकी युवतीको दाहसंस्कार गरेको बताउँछिन् सपना । उनी यतिबेला आफ्नो घर म्याग्दीमै छिन् । बिबिसीले १०० प्रभावशाली महिलाको सूचीमा राखेको खबर उनले म्याग्दीमै पाएकी हुन् । उनलाई गाउँभरका मानिसले बधाई दिइरहेका छन् । पहिले छिछि गर्ने गाउँलेले अहिले भन्न थालेका छन्, –छोरी हुन त सपनाजस्ती !
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ मंसिर २०७७, १७ : ०५
लेखकबाट थप