काठमाडौँ । अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा राख्ने गरेका छन् । प्राकृतिक सुन्दरताका हिसाबले त्यो सूचीमा पर्नु सुखद भए पनि पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र अन्य जलवायुजन्य जोखिमको दर बढ्दा पर्यटन क्षेत्रमा गम्भीर असर पर्ने देखिएको छ ।
जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा वार्षिक २५ अर्ब रुपैयाँ (२४१.६३५ मिलियन अमेरिकी डलर) सम्मको क्षति हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राक्टिकल एक्सनको अध्ययनले देखाएको छ । उक्त अध्ययनले हिउँ पग्लिने दरमा वृद्धि, बाढी, पहिरो, हिमआँधी, हिमपहिरो र मौसमी गतिविधिजस्ता जलवायुजन्य प्रकोपले पर्यटन क्षेत्रको अर्थतन्त्रमा असर निम्त्याइरहेको देखाएको छ । प्राक्टिकल एक्सनका क्षेत्रीय सल्लाहकारसमेत रहेका जलवायु परिवर्तनविज्ञ सुनील आचार्यका अनुसार पर्यटकको मुख्य गन्तव्य पोखरा, लाङटाङ र चितवनलाई प्रमुख आधार मानेर अध्ययन गरिएको थियो ।
सन् २०१७ र २०१८ मा गरिएको उक्त अध्ययनले जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा नोक्सानीको दरसमेत बढ्दै गएको देखाएको छ । ‘जलवायुजन्य विपद्का कारण सन् १९८५–२०१५ सम्म पर्यटन क्षेत्रमा घाटा बढेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९८५ देखि १९९० सम्म जीडीपीमा ०.०७७८ बिलियन रहेको नोक्सानी बढेर सन् २०१० देखि २०१५ सम्ममा १.४६२४ बिलियन भएको छ ।’
तापक्रम १ डिग्री सेल्सियसका दरले वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा १.६१ प्रतिशतले घाटा हुने अध्ययनको निष्कर्ष छ । जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धि हुँदा हिउँ र हिमनदी पग्लिने र हिमतालको आकार बढ्ने हुनाले जोखिम उच्च भएको छ । त्यसको प्रत्यक्ष असर हिमाल आरोहण र हिमाली क्षेत्रको पदयात्रामा पर्ने जानकारहरू बताउँछन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड) को ‘द हिन्दुकुश हिमालय एसेसमेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनेबिलिटी एन्ड पिपल’ प्रतिवेदनमा शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि १.५ डिग्री कायम हुँदा पनि ३६ प्रतिशत र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ मंसिर २०७७, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईमा तापक्रम बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
नेपालगन्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा बढी
भारतमा ५० डिग्री सेल्सियसमाथि पुग्यो तापक्रम
मनसुन सक्रिय हुनुपूर्व निरन्तर बढ्यो गर्मी, तराई क्षेत्रको अधिकतम तापक्रम ४० डिग्रीमाथि
मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस
हुम्लाको तापक्रम माइनस १०