काठमाडौं । शक्ति र सत्ताको मात लागेका प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्रको बाटोमा हिँडिरहेको आभाष मिल्न थालेको छ । आकस्मिकताले तत्कालीन नेकपा (एमाले) को अध्यक्ष बन्न पाएका, परिस्थितिले प्रधानमन्त्री समेत हुन पाएका ओलीमा बढेको अहंकार हेर्दा लाग्छ, तत्कालीन राजा ज्ञानेन्द्रको भन्दा कुनै पनि अर्थमा फरक छैन ।
तत्कालीन राजा ज्ञानेन्द्रलाई पनि लागेको थियो होला , मेरो हातमा सेना छ, कर्मचारीतन्त्र छ, अदालत र राज्यका सबै निकाय छ । तर, उनी जनताको बलमा गलहत्याइनु नै प¥यो । अधिकार भएर त्यसको सदुपयोग गर्न नजान्दा उनले भएभरको सबै शक्ति त्यागेर सामान्य नागरिक बन्नुप¥यो । घटनाक्रमले भन्दै छ अब ओलीका दिन पनि उस्तै आउँदैछ ।
उनी एकता प्रक्रियामा अगाडि बढेको पार्टीलाई दुत्कारेर आफ्नो पद तथा शक्ति जोगाउन लागिपरेका छन् । तथ्य भन्छ, संविधान निर्माण लगत्तै गठन भएको सरकारमा पनि उनले सोही दम्भ देखाएका थिए । तत्कालीन सहयात्री नेकपा (माओवादी केन्द्र) लाई उनले हेप्नुसम्म हेपेका थिए । कुनै पनि निर्णय गर्न नदिने, सत्ता सहयात्रीको मान्यता समेत नदिने उनको सोच साच्चै निरंकुश र विस्तारवादी थियो । राजनीतिक रुपमा भन्दा उनको कार्यशैली सर्वसत्तावादी चरित्रको थियो । जसको काँध चढेर सरकार बनाएका थिए, उनैलाई चिढ्याउने, मनलाग्दी गर्ने र आफूले गरेका निर्णयलाई अरुले मानिदिनुपर्ने दम्भी र अहंकारी चरित्र उनले देखाएका थिए ।
जनताको अपेक्षा ठूलो छ । आफ्नो पक्षमा निर्णय होस् भन्ने चाहनछ । तर ओली त्यसका विरुद्धमा छन् । उनलाई जनताको पक्षमा निर्णय गर्न भन्दा पनि ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु रिमाल, सूर्य थापा जस्ता अराजनीतिकहरुले के भन्छन् र उनीहरुको स्वार्थ केमा छ भन्ने कुरामा मात्रै ओलीको ध्यान पुग्ने गरेको छ ।
जनचाहना लत्याउँदै ओली
जनता कोरोनाको मारमा छन् । उनीहरु सरकारको तर्फबाट आफूहरुको माग सम्बोधन होओस् भन्ने चाहेका छन् । रोजगारी खोसिएको छ । पैसा छैन । कमाउने बाटो छैन । सरकार वामपन्थी र कम्युनिस्ट भएको दावी गर्छ । सरकार समाजवादी भएको ढुवाङ फुक्छ । सरकार जनताको भएको जलप लगाउँछ । तर सबै काम भने यति समूहको गर्छ । सबै काम असगर अलिको गर्छ । सबै काम भूमाफिया र नाफखोरको मात्रै गर्छ । सरकार जनताको भएको दावी गर्छ, तर सबै काम नाफाखोर, कमिसनखोर र दलालहरुको मात्र गर्छ । सरकार जनताको पक्षमा छैन र देखिएको छैन । कुनै पनि निर्णय जनताको पक्षमा गरिएको छैन ।
सरकार गठन भएको आगामी फागुन ३ गते तीन वर्ष पूरा हुन्छ । यसबीचमा नेपाली जनताले सरकारबाट कुनै पनि काम राम्रो भयो भनेर देख्न, सुन्न र भन्न पाएका छैनन् । सरकार गठन भएको लामो समय हुँदा पनि जनताले यो चाही काम सरकारले राम्रो ग¥यो भनेर मुक्तकण्ठले प्रशंसा गर्न पाएका छैनन् । उखान टुक्का र सामान्य आलोचना गर्नेलाई समेत अनेकन लान्छना लगाएर कुप्रचार गर्न प्रधानमन्त्री खड्ग ओली, उनको सचिवालयमा रहेका विष्णु रिमाल, सूर्य थापा र ७० करोडको भ्रष्टाचारी भनेर आरोप लागेका गोकूल बाँस्कोटाहरु लागेका छन् ।
भ्रष्टाचारको दलदलमा सरकार
सरकारी निकायमा विगतमा भन्दा भ्रष्टाचार बढेको छ । नागरिकले कुनै पनि निकायमा फटाफट काम भयो, घुस दिन परेन भन्नु परेको छैन । किनकि ओलीको कोर टीममा रहेकाहरु नैै नराम्ररी भ्रष्टाचारमा डुबेका छन् । ईश्वर पोखरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेर खुलमखुल्ला भ्रष्टाचार गरिरहेका छन् । विष्णु रिमाल, राजन भट्टराईहरु पैसा भने पनि महादेवको तेत्रो नेत्र खुल्छ भने जसरी पैसाको पछाडि कुदेका छन् । राज्ययन्त्रमा कुनै पनि विश्वास छैन । अन्ततः जनताले लडेर ल्याएको प्रणालीमाथि नै अविश्वास पैदा गराउन ओेली र उनका कारिन्दाहरु लागेका छन् । ओली र उनका कारिन्दाहरु आफू सही, अरु सबै गलत भन्ने भ्रममा रहेको तथ्यहरुले पुष्टि गरेको छ । उनीहरु प्रधानमन्त्रीलाई कुनै पनि सही सूचना नदिने, भूलभूलैमाया राख्नमा माहिर छन् ।
गणतन्त्रका लागि रत्नपार्कमा नागरिक सेनाको गोली थाप्न तयार हुँदा ओलीहरु बालकोटको हवेलीमा बसेर भुटेको काजु चपाएको तथ्य कम्तीमा पनि योगेश भट्टराई र रामकुमारी झाँक्रीहरुले भुलेका छैनन । नेपालमा गणतन्त्र आउनु् र बयलगाडा चढेर अमेरिका जानु उस्तै हो भन्ने ओलीको चरित्र र कार्यशैली के कति बदमास र अराजनीतिक थियो भन्ने कुरा बितेर गएका रविन्द्र अधिकारीले थाहा पाएका थिए । आफनै सहयात्रीलाई विश्वासमा लिनु त परको कुरा कुनै पनि सहमति कार्यान्वयन गर्न तयार नहुने ओलीको झापाली प्रवृत्ति नै वर्तमान संकटको खास कारण हो ।
प्रचण्डको योगदान र इतिहास भुल्ने काम
केपी शर्मा ओलीलाई २०७२ सालमा कसले प्रधानमन्त्री बनायो ? उनै अध्यक्ष प्रचण्डले । अघिल्लो पटक विद्यादेवी भण्डारीलाई राष्ट्रपति कसले बनायो ? उनै प्रचण्डले । अहिले ओलीलाई प्रधानमन्त्री कसले बनायो ? उनै प्रचण्डले । सधै ओलीलाई मात्रै शक्ति र सत्ता दिइरहनुपर्ने । यो भन्दा अमिल्दो र गैरराजनीतिक व्यवहार के हुन सक्छ ? उनले कुनै पनि त्याग गर्नुनपर्ने ? यो भन्दा अराजक चरित्र र सोच के हुन सक्छ ? राजनीतिक विश्लेषकहरु भन्छन् , ओलीमा सामाजिक फासीवादी चरित्र छ ।
उनी आफू बाहेक अरुलाई गन्दै गन्दैनन् र मान्दै मान्दैनन् । गत प्रतिनिधीसभाको निर्वाचन अगाडि प्रचण्डको पहलमा नै पार्टी एकता भयो । विद्यमान संसदीय दलमा ओलीहरुले झण्डै ९० सिट जित्दा तत्कालीन माओवादी केन्द्रले समेत ६२ स्थानमा जित निकालेको छ । तत्कालीन रुपमा जनताले एउटै कम्युनिस्ट पार्टी बन्ने, आर्थिक विकास र राजनीतिक स्थिरता प्राप्त हुने आशाका साथ तत्कालीन वाम गठबन्धनलाई जित दिलाएका थिए । त्यो जित पार्टीको थियो । त्यो जित जनताको थियो । त्यो जित इतिहासको थियो । त्यो जित न्यायका लागि थियो । तर, आज ओली र उनका आसेपासेहरुको कुतर्क सुन्न पाइन्छ, त्यो जित केपी ओलीको थियो ।
नेपाली समाजमा स्मरण भन्ने चिज पनि छ र रहन्छ भन्ने हेक्का कम्तीमा ओली र उनकोे गुटले किन बुझन नसकेको होला ? तत्कालीन अवस्थामा वामगठबन्धन नभएको भए आलीहरुले मुस्किलले ६० सिटमा जित निकाल्ने अवस्था थियो ।
देश र जनताको हितमा प्रचण्डको त्याग
तत्कालीन नेपाली काँग्रेसले गठबन्धन बनाएर चुनाव लड्न प्रचण्डलाई आग्रह गरेकै थियो । पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर दिएकै थियो । प्रचण्डलाई दिएको उक्त अवसर उनले देश र जनताको हितका लागि त्यागे । उनले जनताको चाहना र मागलाई सुने । उनले विशाल ह्दयका साथ वामगठबन्धन बनाए । पार्टीले जित्यो, देशले जित्यो । तर, आज खोला त¥यो, लौरो बिस्र्यो भनेजस्तै ओलीमण्डली पार्टीलाई क्लब जस्तो, प्राइभेट कम्पनी जस्तो चलाउन खोजेका छन् । जुन असम्भव छ ।
पार्टी एकता फरक राजनीतिक पृष्ठभूमि र विचारका आधारमा गरिएको थियो । तर, आज ओली आफू निर्वाचित भएको कुतर्क गर्ने गरेका छन् । ओलीले जस्तो कुतर्क गर्ने हो भने ओली तत्कालीन एमालेको सहित गणना गर्ने हो भने केवल सात आठ वर्ष अध्यक्ष भए । प्रचण्ड अध्यक्ष मात्रै भएको झण्डै दुई दशक बढी भयो । वरिष्ठताको नै कुरा गर्ने हो भने प्रचण्ड वरिष्ठ हुन् र तथ्य यही भन्छ । ओली जुनियर हुन् ।
पछिल्लो पटक गत भदौ २६ गतेको निर्णयका आधारमा हेर्ने हो भने नेकपामा ओली सेरेमोनियल अध्यक्ष हुन् । उनलाई मानका खातिर मात्रै सो पदवी दिइएको हो । तर उनले जनताको, पार्टी कार्यकर्ताको र देशको कुरा नसुन्ने र उनीहरुको पक्षमा कुनै पनि निर्णय नगर्ने हो भने अब उनलाई पार्टीले निर्णय गरेर तत्काल बर्खास्त गर्नुपर्छ ।
नकचरोको छैन ओखती
कम्युनिस्ट पार्टीमा पार्टीको निर्णय नै सर्वोपरी हुन्छ । पार्र्टीको निर्णय नै कार्यान्वयन हुन्छ । तर, ओली कम्युनिस्ट पार्टीको बर्को लगाएर बालुवाटारबाट सरकार र पार्टी दुवै चलाएको ध्वास दिन्छन् र भन्छन्, मत निर्वाचित अध्यक्ष हुँ । त्यसकारण मैले छाड्न मिल्दैन । त्यसो भए प्रचण्डहरुले चाहीँ किन छाडिदिनुपर्ने त ? सबै चरोको ओखती भएपनि नकचरोको ओखती हुँदैन । ओली त्यही नकचरो प्रवृत्ति देखाइरहेका छन् । उनको त्यस्तो खाले प्रवृत्ति विरुद्ध तत्काल मोर्चाबन्दी गर्नु जरुरी देखिएको छ । ओलीको अराजक शैलीका कारण नेकपा संकटमा परेको छ ।
आगामी दिनमा पनि यही अवस्था रहेको खण्डमा नेपाली जनताले नेकपालाई किन मत दिने भन्ने प्रश्न उठन सक्छ । त्यसकारण समय छँदै ओली प्रवृत्तिलई ठेगान लगाएर बाँकी रहेको समयमा देश र जनताको पक्षमा भटाभट निर्णय गर्नु जरुरी छ । अन्यथा पश्चिम बंगालमा भाकपा माले ढले जस्तै नेपालमा पनि नेकपा इतिहासको गर्तमा सिमित हुनेछ । किनकी भीरबाट लडन लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०७७, ११ : ५७
लेखकबाट थप