चितवनमा खुल्यो नमुना मण्डी,  मंसिर ५ गतेबाट सञ्चालन

सफल खबर संवाददाता

विहीबार, ०४ मंसिर २०७७, १८ : २५
चितवनमा खुल्यो नमुना मण्डी,  मंसिर ५ गतेबाट सञ्चालन

चितवन । भरतपुर चितवनका युवा कृषि उद्यमीहरूले भरतपुर महानगरपालिका, वडा नं.–१०, वाइपास रोड, थानी चोकमा अर्गानिक मण्डी खोलेका छन् ।

३ करोडको  संयुक्त लगानीमा भरतपुर तरकारी तथा फलफूल प्रालि दर्ता गरी भरतपुर तरकारी तथा फलफूल मण्डी स्थापना गरिएको हो । अति सुविधा सम्पन्न अत्याधुनिक तरकारी तथा फलफूल मण्डीमा थोक तथा खुद्रा तरकारी तथा फलफूल बिक्रीवितरण गरिने प्रालिका अध्यक्ष शम्भु थापाले जानकारी दिए ।  मंसिर ५ गते बिहान ९ बजे हुने मण्डीको उद्घाटन कार्यक्रम रहेको छ । 

अध्यक्ष थापाका अनुसार करीब १० हजार वर्ग फिटको एउटै छाना मुनी ७ हजार वर्ग फिटमा ४४ वटा स्टलहरू रहेका छन् । यस मण्डीमा ३६ वटा तरकारी, ४ वटा फलफूल, १ वटा दुध, १ वटा बिज बिजन, १ वटा प्लास्टिकका सामान र १ वटा अत्याधुनिक तथा व्यवस्थित क्यान्टिन रहनेछन् ।

बाँकी करीव तीन हजार वर्ग फिटमा चामल, चिनी, दाल, तेल तथा गेडागुडी सहित अत्याधुनिक डिपाटमेन्टल स्टोर्स रहनेछ । मण्डीमा सरसफाई गर्नको लागि प्रर्याप्त पानीको व्यवस्था, विजुलीको लागि ज्यानेरेटरको व्यवस्था, सुरक्षाको लागि सि.सि. क्यामेरा र सुरक्षा गार्डको व्यवस्था सहित प्रयाप्त पाकिङ्गको व्यववस्था गरिएको छ । 

सामान खरीद तथा बिक्रिको लागि पनि छुट्टा छुट्टै समयको व्यवस्था गरिएकोछ । विहान ३ः०० बजेदेखि ५ः०० बजेसम्म स्टलवालाले सामान खरीद गर्ने, विहान ५ः०० बजेदेखि ६ः०० बजेसम्म थोक बिक्रि गर्ने र बिहान ६ः०० बजेदेखि राती ८ः०० बजेसम्म खुद्रा खरीद बिक्रि हुनेछ ।

हरेक दिन बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म तरकारी तथा फलफूल सामान खरीद गर्न आउने तथा मनिङ्गवाक गर्न आउने जो सुकै व्यक्तिहरूलाई लेमन पानी निःशुल्क खुवाउने व्यवस्था गरिनेछ । 

‘अरुले उत्पादन गरेको सामान बेच्नु मात्र संस्थाको उद्देश्य नभई, संस्था आफै प्रत्यक्ष उत्पादनमा जोडिनेछ, उपभोक्ताहरूलाई अर्गानिक तरकारी, शुद्ध ध्यु, दुध, दही, पनिर, आदि उत्पादन गर्नका लागि क्रिष्टल कृषि फर्म दर्ता गरी सकेको छौँ’ अध्यक्ष थापाले भने, ‘जसका लागि संस्थाले आफ्नै सदस्यहरूलाई उत्पेरित गरेर अहिलेसम्म तरकारी खेतीका लागि ६ विगाह, गाई भैसी पालनका लागि २ बिगाहा, बङगुर पालनको लागि २ बिगाहा जमिनको व्यवस्था गरी सकेको छ । आगामी दिनमा आवश्यकता अनुसार अझ बढाउदै लगिनेछ ।’ 

यसलाई अझ बिस्तार तथा सरलीकृत गर्नका लागि छुट्टै कृषि सहकारी स्थापना गरी जिल्ला भरीका ७७७ जना कृषक, युवा बेरोजगार र बैदेशिक रोजगारबाट बिस्तापित  भएका युवाहरूलाई प्रत्यक्ष कृषि उत्पादनमा सहभागी बनाई रोजगारी सिर्जना गरी आत्मर्निभर बनाउने लक्ष्य राखिएको सल्लाहकार चेतप्रसाद सेढाईले जानकारी दिए ।  उक्त सहकारीका सदस्यहरूबाट उत्पादन भएका सम्पूर्ण कृषि उपजहरूलाई खरिद गरि बिचौलिया प्रथाको अन्त्य गर्दै कृषकले नै उचित मूल्य पाउने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

सचिव कृष्णशंकर अधिकारीले मण्डीमा स्टल लिने सबैलाई सहकारीको सदस्यता वितरण गरी बचत परिचालन तथा आवश्यक पर्दा ऋणको सर्व शुलभताको व्यवस्था मिलाइएको बताए ।  जसले गर्दा हरेक सदस्यले संस्थाको अपनत्व गर्दै योगदानको आधारमा नाफामा समेत सरिक हुनेछन् । 

सचिव सुदन दराईले स्टलबाट निस्किएका फोहरहरू, पातहरू र खेर गएका तरकारीहरू संस्थाले नै उचित मूल्यमा खरीद गरेर त्यसको व्यवस्थापन गरिने जानकारी दिए ।  जसबाट मण्डी सफा हुनुका साथै संस्थाको आफ्नै बङ्गुर फर्ममा खानाको लागि प्रयोग गरी उचित आय आर्जन गर्न सकिनेछ । 

निकट भविष्यका योजनाहरु  

१. डेरी फर्म खोल्ने : करीब २ करोडको लगानीमा आफ्नै गाई तथा भैसीँ फर्म सहित आफ्नै डेरी खोल्ने योजना छ । जस्का लागि २ बिघा जमिन भाडामा लिइ गोठ निर्माण भइरहेको छ ।
२ कृषि फर्म खोल्ने : करीब ७५ लाखको लगानीमा आफ्नै कृषि फर्म खोली बिउ बिजन उत्पादन तथा अर्गानिक तरकारी उत्पादन गर्ने योजना छ । जस्का लागि ६ विगाह  जमिनको व्यवस्था गरि उत्पादन कार्य अगाडी बढाइएको छ ।
३ बाख्रापालन गर्ने : करीब १.५ करोडको लगानीमा कृषक समूह बनाई सहकारीका सदस्यलाई तालिम र अन्य आवश्यक खोर लगायतका सामानहरूको व्यवस्था गरी बाख्रापालनलाई प्रोत्साहन गर्ने योजना छ । 
४. बङगुर पालन गर्ने : करीब १ करोडको लगानीमा आफ्नै बङगुर फर्म खोल्ने योजना छ । जस्का लागि २ बिगाह जमिन भाडामा लिइ अत्याधुनिक खोर निर्माण भइरहेको छ ।
५ मासु मण्डीको स्थापना : बढ्दो मासुको मागलाई मध्यनजर गर्दै करीब ३ करोडको लगानीमा अत्याधुनिक मासु मण्डी खोल्ने योजना छ । 
६ कृषि सहकारीको स्थापना : चितवन जिल्ला भरीका ७७७ जना उद्यमशिल युवाहरू सकृय बनाउदै कृषि सहकारी खोल्ने योजना छ । 
७ डिपाटमेन्टल स्टोर्स खोलिने : मण्डीसँगै रहेको तीन हजार वर्ग फिटमा अत्याधुनिक डिपाटमेन्टल स्टोर्स २ करोडको लगानीमा खोल्ने योजना छ । 
८ लोकल कुखुराको चल्ला र मासु पसल : लोकल कुखुराको चल्ला र मासुलाई प्राथमिकता दिँदै रु. २५ लाखको लगानीमा खोर र मासु पसल खोल्ने योजना छ ।
 

प्रतिक्रिया दिनुहोस