मोरङ । मोरङमा पछिल्लो १२ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा र मोरङका दुई,दुई जना तथा सुनसरीका एक जनाको मृत्यु भएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये झापा र सुनसरीका दुई महिला तथा मोरङका एक पुरुष रहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले बताए । झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको छ । रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या देखिएपछि महिलालाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको दाहालले बताए ।
यस्तै सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहान ८ः१० बजेतिर मृत्यु भएको छ । दाहालका अनुसार ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहान ७ः३० बजे मृत्यु भएको छ ।
कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको संक्रमण देखिएको १० दिनपछि उपचारकै क्रममा ज्यान गएको दाहालले बताए । झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ ।
अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो । उनको पीसीआर परीक्षण गराउँदा दिउँसो रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको केही बेरमै उनको ज्यान गएको देवले बताए ।
मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको पनि होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कात्तिक १५ गते रिपोर्ट पोजिटिभ आएपछि उनी घरमै होम आइसोलेसनमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०७७, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सामा कोरोना संक्रमित भेटिएपछि नाकामा बढाइयो निगरानी