चलचित्र ‘तिमी सँग’ को ट्रेलर सार्वजनिक

आइतबार, २७ फागुन २०७४, १७ : ५५

चलचित्रको ट्रेलर काठमाण्डौमा आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ  । यो चलचित्र चैत्र २३ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । सुनिल बी.के यो चलचित्रबाट रजतपटमा प्रवेश गर्दैछन् ।

चलचित्रमा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा छ । सुशिल उप्रेतीको छायांकन रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ । शिशिर राणाले नै चलचित्रको कथा लेखेका हुन् ।

चलचित्रको ट्रेलरले ३ अपरिचित पात्रको भेट, प्रेम, विछोड, आकर्षणको कथालाई देखाएको छ । विदेशबाट नेपाल आएकी एक यूवती र उनीसँग भेट भएका २ यूवाको रोमान्चक प्रेमकथालाई चलचित्रले प्रस्तुत गरेको ट्रेलरबाट वुझ्न सकिन्छ ।

चलचित्रमा आकाश रोमान्टिक र गम्भिर भूमिकामा देखिएका छन् भने नाजिर केहि कमेडी स्वभावको देखिएका छन् । यो बर्ष साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर २’ हिट भयो । यसैले, पनि यो चलचित्रको इनिसियल व्यापारमा उनको स्टारडम बढी भर पर्नेछ । चलचित्रको ट्रेलरले दर्शकलाई हलसम्म तान्न सक्छ ।

प्रतिक्रिया दिनुहोस