नेपालमा चाउचाउको जग बसाल्ने सूर्यबहादुर

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १७ : २५
नेपालमा चाउचाउको जग बसाल्ने सूर्यबहादुर

काठमाडौँ । नेपालमा एक समय थियो, चाउचाउ पनि खाजा हुन्छ र भनिन्थ्यो । नेपालमै मात्र होइन, दक्षिण एसियामै चाउचाउलाई नौलो मानिन्थ्यो । यस्तो बेलामा नेपालमा चाउचाउ भित्र्याएर ब्रान्ड बनाउने सूर्यबहादुर केसी हामी माझबाट अस्ताइसकेका छन् । 

नेपालमा एकताका चाउचाउ भनेकै ‘रारा’लाई लिइन्थ्यो । रारा सबैका साझा, आनि यही हो खाजा भनिन्थ्यो । नेपाली बजारमा ‘रारा चाउचाउ’को युग अहिले पनि चलिरहेको छ । धेरै चाउचाउ आए गए, राराको जग अहिले पनि भत्केको छैन, मजबुद नै छ। कालान्तरमा अन्य अनेक ब्राण्डका चाउचाउ आए, बजारमा स्थापित भए ।

यद्यपि, राराको ‘स्पेस’ अहिलेसम्म कायम छ ।नेपालमा रारा नामको तयारी खाजा चाउचाउ भित्र्याउने र ब्रान्ड बनाउने सूर्यबहादुर केसी मंगलबार दिबंगत भएका छन् । उनी माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष समेत थिए । उनले रारा चाउचाउ र बैंकिङ व्यवसाय मोफसल अर्थात्, राजधानी बाहिर खोलेर स्थापित गराए अनि दुवै ब्राण्डलाई देशव्यापी बनाएर आफु सधैँको लागि अस्ताए ।

हाइड्रोपावर, शिक्षा र निर्माण व्यवसायमा समेत केसीको लगानी छ । उनी निर्माण व्यवसायबाट उदाएका थिए । उनी रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि र माछापुच्छ्रे बैंकबाहेक युनाइटेड इदि मर्दी एण्ड आरबी हाइड्रोपार, भगवती हाइड्रोपावर, तास हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि लगायतका संस्थापक हुन् ।


राजनीतिज्ञ पनि बने 

पोखराका सूर्यबहादुर केसीका तीन छोरा र श्रीमती छन् । केसी ६७ वर्षको उमेरमा सबैबाट बिदा भएका छन् । सूर्यबहादुर राजनीतिमा लामो समय ‘कन्जर्भेटिभ’ पार्टी राप्रपाका नेता बने, व्यवसाय र समाजसेवामा भने सधैँ उदारवादी। उद्योग व्यवसायमा सक्रिय हुँदाहुँदै उनी पञ्चायतकालमै राजनीतिमा प्रवेश गरे। २०४३ मा निर्वाचन भयो। प्रधानपञ्चमा सूर्यबहादुर उठे, चुनाव जिते। २०४६ चैतमा प्रजातन्त्र पुर्नस्थापना भएपछि उनको प्रधानपञ्च पद गुम्यो। तर राजनीतिमा उनी अघि बढे। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको कास्की जिल्ला अध्यक्ष हुँदै उनी केन्द्रीय कोषाध्यक्ष बने। पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका सूर्यबहादुर त्यसपछि केही समय राजनीतिबाट परै बसे। सूर्यबहादुरको हालको ठेगाना पोखरा–७ एयरपोर्ट हो। २०१४ जेठ १० गते उनी तत्कालीन छिनेडाँडा गाविस २ मझेरीपाटनमा जन्मिएका थिए। अहिले मझेरीपाटन पोखरा महानगरको वडा नं १४ पर्छ। बुबा कीर्तिबहादुर र आमा पम्फादेवी केसीका जेठा छोरा हुन्, सूर्यबहादुर।

बुबा कीर्तिले त्यतिबेलै निर्माण व्यवसाय गर्थे। बुबाको बिँडो थाम्ने भनेझैं सूर्यबहादुर पनि सुरूमा निर्माण व्यवसायमै लागे। पोखराका केही युवाले गण्डकी नुडल्सको नाममा सिन्के चाउचाउ उत्पादन गर्न थाले। सिन्के चाउचाउको व्यवसायले अपेक्षित व्यापार भएन, कम्पनी घाटामा गयो। 

त्यसपछि नै सूर्यबहादुर चाउचाउ उद्योगमा प्रवेश गरेका थिए। घाटामा गएको गण्डकी नुडल्समा लगानी गरे, जापानबाट मेसिन मगाएर आधुनिक तरिकाले चाउचाउ उत्पादन थाले। २०३९ माघदेखि उत्पादन थालेको रारा चाउचाउ अहिले पनि ब्रान्ड छ ।

प्रतिक्रिया दिनुहोस