महाबौद्धका थोक व्यापारीहरु मारमा

सफल खबर संवाददाता

शुक्रबार, १६ असोज २०७७, १५ : २२
महाबौद्धका थोक व्यापारीहरु मारमा

फाइल फोटो

काठमाडौँ । करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा परेका छन् । 

कोभिड—१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएका छन् । दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरु चिन्तित बनेका छन् । 

संक्रमण न्यूनीकरणका लागि जारी भएको लक डाउनका कारण उपत्यकाका खुद्रा व्यापारी समेत विस्थापित भएपछि थोक विक्रेताहरुको व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ । उपत्यकाका खुद्रा व्यपारी पनि नआएको र बाहिरबाट पनि नियमित रुपमा बस सञ्चालन नहुँदा व्यवस्या सञ्चालनमा समस्या देखिएको व्यवसायीहरुको भनाई छ । 

गत वर्षको मंसिरमा काठमाडौं आइपुग्नुपर्ने सामान अहिलेसम्म केरुङ नाकामै रोकिँदा व्यवसायीहरुमा थप चिन्ता छाएको छ । बैंकको ऋण किस्ता र व्याज तिर्न सक्ने अवस्था समेत नरहेको उनीहरुको भनाई छ । अहिले स्थानीय व्यापारमा ८० प्रतिशतसम्म कटौती भएको र उपत्यका बाहिरको व्यापारमा ६० प्रतिशत कमि आएको महाबौद्धका व्यापारीहरुको भनाई छ । 

दशै अगाडि केरुङ नाकाबाट सामान आउन सक्ने अवस्था नभएकाले पुरानो स्टक भएसम्म व्यवसाय सञ्चालन गर्न सकिने अवस्था रहेको छ । पछिल्लो समय प्रतिदिन ५ वटा कन्टेनर नेपाल आउने गरेको भएपनि लत्ता कपडा लगायत कस्मेटिक सामान बोकेका कन्टेनरहरुले भने पालो पाउने नगरेको उनीहरुको भनाई छ ।

व्यवसायीहरुका अनुसार गत पुसमा परेको हिउँ र त्यसपछि कोभिड महामारीलाई देखाएर तिब्बतको भन्सारले सामान क्लियर नगर्दा यस्तो अवस्था आएको हो । बीच बाटोमै रोकिएका एक हजारभन्दा बढी कन्टेनरमा लत्ताकपडा, कम्प्युटर, फर्निचर, कच्चा पदार्थ, खाद्यान्न, इलेक्ट्रोनिक्स सामान, रेडिमेड गार्मेन्ट, जुत्ता–चप्पललगायत अर्बौं रूपैयाँका सामान छन् ।

प्रतिक्रिया दिनुहोस