‘हंस’ लाई पद्मश्री साहित्य पुरस्कार, लेखकबाटै अस्वीकार

सफल खबर संवाददाता

आइतबार, ११ असोज २०७७, १४ : २७
‘हंस’ लाई पद्मश्री साहित्य पुरस्कार, लेखकबाटै अस्वीकार

काठमाडौँ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास  ‘हंस’ लाई दिने निर्णय गरेको छ ।

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, कानून तथा संस्कारले प्रेम र सम्बन्धमा बनाएको जटिलता अनि त्यसले मानिसलाई नै कसरी थिचिरहेछ र बोझ बनाइरहेछ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएकाले पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यस वर्षको पद्मश्री साधना सम्मान विगत ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्‍याएका साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी तीन लाख रुपैयाँ छ । २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर गरेका पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्मान तथा पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएकोमा यसपटक अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लेखक उप्रेतीको आपत्ति

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री पुरस्कार आफूलाई अर्पण गर्ने निर्णयप्रति लेखक सञ्जीव उप्रेतीले आपत्ति जनाएका छन् । प्रतिष्ठानले पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई पनि सँगै दिइने निर्णयप्रति उप्रेतीले आपत्ति जनाएका हुन् ।

पुरस्कारप्रति आपत्ति किन त ? उप्रेती भन्छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएको लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ । पुस्तककै माध्यमबाट मोदनाथ पश्रितलाई शारदा भुषालले लगाएको आरोप अझै रहिरहेकाले पुरस्कारसँग मेरो विमति रहेको हो ।’

उनले आयोजकलाई आफ्नो धारणा पठाइसकेको जनाएका छन् । आयोजकको जवाफ आएपछि मात्र पुरस्कार लिने, नलिने व्यक्तिगत निर्णय गर्ने उप्रेतीले बताए । लेखक एवं प्राध्यापक उप्रेती लैंगिक समानताका पक्षमा निरन्तर लेखिरहने साहित्यकारमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस