‘त्यसपछि श्रीमानलाई नभनी बन्ध्याकरण गराएँ’

एजेन्सी

बुधबार, २३ फागुन २०७४, ०८ : २८
‘त्यसपछि श्रीमानलाई नभनी बन्ध्याकरण गराएँ’

श्रीमानसँग योभन्दा पहिला पनि झुटो बोलेकी थिएँ । त्योबेला त्यसको नाफा घाटा बुझ्थेँ । यस पटक अँध्यारो कुवामा हामफाल्दै छु भन्ने लागेको थियो । त्यो समयमा विषय अर्कै थियो । मैले आफ्नो श्रीमानलाई मेरो तलब कम भनेकी थिएँ । किनभने केही पैसा जम्मा गर्न सकूँ र उसलाई रक्सीमा पैसा खर्च गर्नबाट रोक्न सकौँ ।

यो झुट थाह पाए भने कति मार खाने छु भन्ने थाह थियो । आँखा सुनिने छन्, शरीर दुख्ने छ, कम्मरमा केही निशान हुनेछन् । तर राम्रो के थियो भने बैङ्कमा फिक्स डिपोजिट गरेका पैसा फेरि पनि उसले निकाल्न सक्दैनथियो । यो कुरा मेडमले सम्झाएकी थिइन्, नत्र बैङ्कमा खाता खोल्नु र पैसा जम्मा गर्नु म जस्ती गाउँमा जन्मे हुर्केकी केटीका लागि सम्भव थिएन ।

आज पनि जे गर्न गैरहेकी थिएँ, त्यसको बारेमा पनि मेडमले नै भनेकी थिइन् । तर मुटु मुखमै आएजस्तो भइरहेको थियो । यस पटक दाउमा मेरो शरीर थियो । सुनेकी थिएँ, यो अप्रेसनमा मृत्यु पनि हुन सक्छ । तर अब जीवन पनि मृत्युजस्तो लाग्न थालेको थियो । मेरो उमेर २२ वर्ष भएको थियो तर ४० वर्षकीजस्ती देखिन थालेकी थिएँ ।

शरीर पातलो अवश्य थियो तर जवानी थिएन, हड्डी मात्र थियो । आँखामुनि कालो दाग थियो, अनुुहारमा निर्दोर्षिताको ठाउँमा फुस्रो थाकेको थियो । हिँड्दा पनि कम्मर हल्का झुकेको छजस्तो लाग्थ्यो । यो सबैले देख्थे तर भित्र जुन कुरा थियो, त्यसको आवाज केवल मेरो कानमा मात्र गुन्जन्थ्यो ।

सुरुमा मलाई केही गलत लाग्दैन थियो । १५ वर्षको उमेरमा विवाह भयो र सहर आएँ । श्रीमान कामबाट घर आएर खाना खाएपछि ओछ्यानमा मेरो आवश्यकता हुन्थ्यो । केवल आवश्यकता । म केवल एक शरीर थिएँ, जसको भावनासँग उसको कुनै लिनुदिनु थिएन । तर मलाई पनि योभन्दा बढी आशा पनि थिएन । आमाले यस्तै हुन्छ भन्नुभएको थियो ।

त्यहाँसम्म पनि ठीक थियो । पहिलो सन्तान छोरी जन्मी । पहिलो पटक कुटपिट गर्यो । पहिलो पटक उसले रक्सी खायो । फेरि ओछ्यानमा सबै रिस निकाल्यो । अर्की छोरी जन्मी । उसले काम छोड्यो । मैले काम गर्न सुरु गरेँ । तेस्री छोरी जन्मी ।

छोराको चाहनासँग जोडियो मेरो जीवन मलाई कुट्ने, मेरो कमाएको पैसाले रक्सी खाने र राति सैतानझँै मेरो शरीरको प्रयोग सब जारी रह्यो । म चुप रहन्थेँ । महिलामाथि यी सबै कार्य हुन्छन् भनेर आमाले भन्नुभएको थियो ।

चौथो पटक मेरो पेटमा बच्चा बस्दा म २० वर्षकी थिएँ । मेरो अध्मरो शरीर जब मेडम (जसको घरमा म काम गर्थें) ले फेरि फुलेको देखिन अनि रिसाइन् ।

सोधिन् जन्माउन सक्छौँ ? यति खुन छ त शरीरमा ? मैले भने हुन्छ । खानदानी परिवारकी यी महिलाले मेरो जीवन के बुझ्छिन् भनेर सोचेँ । छोरा नजन्मिदासम्म मैले यी सबै दुःख झल्नु नै थियो । उनलाई बैङ्कमा पैसा जम्मा गर्न सल्लाह र सहयोग एउटा कुरा थियो तर घरपरिवारले यो कुरा बुझाउन सक्दैन थिए ।

सबै चुपचाप होस्, म बच्चा पाउने छु भनेर कसैलाई पनि थाह नहोस् मनले भन्थ्यो । मेरो शरीर नबदलियोस्, मेरो जीवनको कहानी कसैले सार्वजनिक नगरोस् । मलाई के लागेको थियो भने छोरा जन्मेपछि सब ठीक हुनेछ । कुटपिट, रक्सी, म माथि हुने यौन अत्याचारको सिलसिला छुट्ने छ । यो पटक छोरा नै जन्म्यो ।

तर यातना दिन रोकिएन
अस्पतालमा नर्सले आएर भनेपछि म रुन थालेँ । बच्चा जन्माउनका लागि १० घण्टादेखि सहेको पीडा र नौ महिनासम्म कमजोर शरीरमा पालेको थकाइ एक छिनमा हरायो । तर फेरि... फेरि केही परिवर्तन भएन । त्यो दानवीय सिलसिला जारी रह्यो । त्यसपछि चाहिँ मेरो के गल्ती थियो ? मैले छोरा जन्माएकी थिएँ । तर मेरो श्रीमानलाई सैतानी आदत लागेको थियो । मेरो शरीर धेरै टुटेको थियो । फेरि बच्चा पाउने नहुँ । यो डरले हरेक पल सताउँथ्यो ।

एक दिन मेरी मेडमले मेरा ज्यान नभएको अनुहार हेरे सोधिन्, एक चीज बल्नु परेमा के बदल्छौ आफ्नो जीवनमा । म हाँसेँ । आफ्ना चाहनाको बारेमा न कहिल्यै सोचेकी थिइनँ, न कहिल्यै कसैलाई सोधेकी थिएँ । तर कुरा हाँसोमा सकिएन । धेरै सोचेँ । एक हप्तापछि मेडमलाई भने मेरो जवाफ तयार छ । उनले त्यो बेलासम्ममा सायद बिर्सिसकेकी थिइन् ।

अप्रेसन गर्ने निर्णय
मैले भने म अब बच्चा जन्माउन चाहँदिनँ, तर मेरो श्रीमानलाई कसरी रोक्ने, यो कुरा मलाई थाह छैन । मैले सम्झाउने कोसिस गरेकी थिएँ । चार बच्चाको पालन पोषण गर्नलाई पैसा थिएन, यो कुरा पनि भनेकी

थिएँ । तर विस्तारामा उसबाट छुट्दैन थियो । मेरो कमजोर शरीरको कुनै वास्ता थिएन । बच्चाको जिम्मेवारी पनि कहिल्यै लिएन, उसलाई केको डर । मेडमले अप्रेसन गराउनु भनिन् । यो तिम्रो हातमा छ । तिमी रातिमा चाहेर उसलाई रोक्न सक्दैनौँ तर गर्भवती हुनबाट त स्वयम्लाई बचाउन सक्छ्यौ ।

मलाई यस बारेमा केही थाह थिएन । कैयौँ दिन बिते । मेरा धेरै प्रश्न थिए । जब मेड्म जवाफ दिँदादिँदा थाकिन् र एउटा क्लिनिकको बारेमा बताइन् । त्यहाँ मजस्ता अन्य महिला पनि थिए । उनीहरूबाट नै अप्रेसन छिटो हुन्छ तर केही गडबड भए ज्यान पनि जान सक्छ भन्ने थाहा पाएँ ।

महिना दिनको थकथकपछि जब श्रीमान र छोराछोरीसँग झुटो बोलेर क्लिनिक आएँ तर दिमागमा यही डर थियो । थाकेकी थिएँ, डर र हतास पनि थियो । यो खतरानाक कार्य थियो तर आशा पनि थियो, कमसेकम यसपछि मेरो जीवनको एक हिस्सा मेरो बसमा हुनेवाला थियो ।

मेरो अप्रेसन भयो । म मरिनँ । केही दिन दुखाइ र कमजोरी रह्यो । अहिले सबै ठीक छ । १० वर्ष भयो । अहिले म ३२ वर्षकी भएँ । मपछि कहिल्यै बच्चा नजन्माउने भएँ । मेरो श्रीमानलाई पनि केही फरक परेन ।

उसको जीवन अहिले पनि नशामा, कुटपिट र ओछ्यानमा आरामले बितेको छ । सायद उसलाई केही फरक पर्दैन । म पनि मैले गर्नु पर्छ त्यही गरिरहेकी छु । मेडमको घरमा सरसफाइ, भाँडाकुँडा धुनु, जसबाट आउने पैसाले छोराछोरी हुर्काइरहेकी छु ।

श्रीमानलाई छोड्न सक्दिनँ, न त उसको बानी बदल्न सक्छु । यो कुरा आमाले भन्नुभएको थियो ।  यसकारण उसको बानी पारेकी छु । बाँकी ठीक छ, उसले मेरो ख्याल राखेन त के भयो, आफ्नो ख्याल मैले राखेकी छु । मेरो अप्रेसन मेरो राज हो । यो एउटा फैसला थियो जुन मैले केवल आफ्ना लागि गरँे ।-बीबीसी

प्रतिक्रिया दिनुहोस