अलविदा खुसीराम दाइ, अलविदा  प्रकाश भाइ

शुक्रबार, ०८ मंसिर २०७४, ०९ : ५५
अलविदा खुसीराम दाइ, अलविदा  प्रकाश भाइ

एउटा कलाकारलाई गीत गाउँदा गाउँदैको क्षणमा मृत्युवरण गर्न पाउनु निश्चय नै अरुखाले मृत्युभन्दा स्वीकार्य हुन्छ होला, तर मृत्यु यस्तो विषय हो जसलाई सहजै स्वीकार्न सकिँदैन । जन्मपछि मृत्यु अनिवार्य छ, तर मानिस जीवनभर मृत्युलाई छल्ने भ्रममा बाँचिरहन्छ । शाश्वत कुरा परिवर्तन हुँदैन । जन्मपछि मृत्यु शाश्वत कुरा हो । यदि मृत्युलाई रोक्न सकिँदो हो त संसारमा आज धेरै महान व्यक्तिहरु हामीबीच रहिरहेका हुनेथिए, तर यस्तो हुनै सक्दैन । त्यसैले कसको मृत्यु कसरी भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । मृत्यु आफैँमा अप्रिय विषय भएपनि कहिलेकाहीँ कसैको मृत्युलाई स्वाभाविक मान्नुपर्ने रहेछ । कहिलेकाहीँ कसैको मृत्युलाई गौरवको विषय मान्नुपर्ने रहेछ । हो, यस्तै गौरवपूर्ण मृत्यु अँगालेका छन् जनताका गायक खुसीराम पाख्रिनले ।


संयुक्त वाम गठबन्धनको आयोजनामा मंगलबार भरतपुरमा भइरहेको चुनावी सभामा गीत गाएका पाख्रिनको जीवन त्यो सभा नसकिँदै सकियो । जुन मञ्चमा उनले केहीबेर अघि गीत गाए, त्यही मञ्चबाट उनको निधनको सूचना सार्वजनिक भयो । हृदयाघातबाट कात्तिक तीन गते अकस्मात सबैलाई स्तब्ध पार्दै संसार छाडेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्ररत्न प्रकाश दाहालको श्रद्धाञ्जलि सभामा गीत गाएका जनगायक पाख्रिनको मृत्यु पनि हृदयाघातबाटै भयो । दुई मृत्युबीचको यो अप्रिय संयोग थियो । २००९ साल कात्तिक नौ गते गोरखाको खरिबोट सिस्नेमा जन्मेका पाख्रिनले २०७४ साल मंसिर ६ गते भरतपुरमा अन्तिम श्वास छाडे । उनको शरीर हामीबाट टाढा भएपनि उनका कालजयी गीतहरुले उनी सधैँ अमर रहनेछन् । अलविदा जनगायक खुसीराम पाख्रिन दाइ ।


मृत्युकै चर्चा गरिरहँदा अर्को असामयिक मृत्युका बारेमा लेख्न हात चल्नै मान्दैन । ३६ वर्षको युवा वयमा अकस्मात अकल्पनीय तरिकाले जो कसैको मृत्यु भएपनि त्यसलाई सहजै स्वीकार्न गाह्रो पर्छ । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्ररत्न प्रकाश दाहालको मृत्यु यस्तै अविश्वसनीय बन्यो । २०३८ साल असार १७ गते यो धर्तीमा पाइला टेकेका प्रकाशले २०७४ साल मंसिर ३ गते सबैलाई रुवाएर धर्तीबाट बिदा भए । उनको अकल्पनीय मृत्यु उनका बाबु प्रचण्ड र आमा सीतामात्र नभई आफन्त, शुभचिन्तक र समस्त देशवासीका लागि पीडाको खबर बन्यो । चितवनमात्र होइन, देश नै स्तब्ध भयो । शाश्वत मृत्युलाई स्वीकार्नुको विकल्प छैन । कात्तिक २६ गते तिमीले मङ्गलपुरमा बदाम खुवाएको सदा स्मरणमा रहनेछ ।  अलविदा प्रकाश भाइ ।

- पुष्कर
 

प्रतिक्रिया दिनुहोस