एउटै फोटोमा दिन र रात खिच्ने फोटोग्राफरको कथा

एजेन्सी

मंगलबार, २२ फागुन २०७४, ०८ : ४९
एउटै फोटोमा दिन र रात खिच्ने फोटोग्राफरको कथा

कलाका माध्यमहरूमध्ये फोटोग्राफी प्रविधिमा सबैभन्दा अभ्यस्त विधा होला । फोटोग्राफर र कलाकार स्टेभन विल्किसले यो चुनौतीलाई स्वीकारेका छन् । उनको पछिल्लो परियोजनाको नाम ‘बिहानदेखि रातिसम्म’ रहेको छ । यस परियोजनाका सामग्रीहरूमा एउटै फोटोमा दिन भरमा हुने परिवर्तनलाई समावेश गर्न खोजिएको छ ।

उनको तान्जानियास्थित सेरेनगेटी राष्ट्रिय निकुन्जको फोटोलाई नै लिऊँ । यसका लागि उनले २६ घण्टासम्म क्यामेरालाई एकै ठाउँमा राखेर २२०० फोटोहरू खिचँे । यो पूरा अवधि उनी आफै सानो झ्याल भएको टेन्टजस्तो संरचनामा बसिरहे । उनी तलाउमा पानी पिउन आएका जनावरहरूले आफ्नो उपस्थिति नदेखून् वा नसुनून् भन्ने सुनिश्चित गर्न चाहन्थे । उनले सो स्थानबाट सूर्योदयदेखि गहिरो अन्धकारसम्मका फोटोहरू खिचे ।

‘म हातैले फोटोहरू खिच्छु, यी फोटोहरू ‘टाइम ल्याप्स’ प्रयोग गरेर खिचिएका होइनन्... यो मेरो आफ्नै आँखाले देखेका पलहरू हुन्’, विल्किसले भने । ‘म आफूलाई जादुई पलहरूका सङ्कलकका रूपमा व्याख्या गर्छु ।’

एक विषयका लागि सम्पूर्ण तस्बिरहरू लिएपछि विल्किस दिन र रातको समयका उत्कृष्ट क्षणहरू चुन्छन् । त्यसपछि उनी तिनलाई कसैले छुट्याउनै नसक्ने गरेर एउटै फोटोग्राफमा ढाल्छन् । यसो गर्दा फोटोको आधा भागमा उज्यालो र बाँकी आधामा अध्यारो पर्ने गरी मिलाउँछन् । उनी सूर्योदयको समयलाई फोटोको बाँया कुनामा राखेर त्यहाँबाट देब्रेतर्फ दिन ढल्कदै गएको देखाउँछन् । यो कामले चार महिनासम्म लिन सक्छ । जब कि यी फोटोहरू एक दिनभित्र लिइएका हुन्छन् ।

तल उनै फोटोग्राफर विल्किसले डिजिटल फोटोग्राफीको सामथ्र्य, बितिरहेको समयको अवलोकनकर्ता हुँदाको अनुभव र तस्बिरमा भावनालाई समावेश गर्ने चुनौतीबारेमा बोलेका छन् ।

सेरेन्गेटीको सुटिङका क्रममा जनावरहरूको जीवन खुल्दै गएको अवलोकन गर्दा
म चित्रभित्र समयलाई बदल्छु । सूर्यको गतिसँगै प्रकाश बदलिन्छ र साथसाथै जनावरहरू पनि बदलिन्छन् । तपाईं जनावरहरूको शरीरमा परेको प्रकाशमा समय बदलेको हेर्न सक्नुहुन्छ । यो सबै समयमा आधारित रहेको छ । सूर्योदयको समय तलाउ शान्त देख्नुहुन्छ र जनावरहरू सूर्योदयसँगै त्यहाँ आउन थाल्छन् । बाह्रसिङ्गे र जेब्रा एकअर्कालाई हेर्छन् : एउटाको कमजोर आँखा छ र अर्कोको कमजोर श्रवण क्षमता छ– अन्धोले बहिरोको अगुवाइ गरिरहेछ ! त्यहाँ मिरक्याटहरू पनि थिए । मलाई ‘जङ्गल बुक’ फिल्म हेरेझैँ भएको थियो । समयसँगै तपाईं सूर्यमाथि गएको देख्नुहुन्छ सँगसँगै प्रकाश पनि घुम्न थाल्छ । यो जनावरको पछाडि जान्छ । यो सब म त्यहाँ छेउमा बसेर हेरिरहेको छु । मसँग अर्को को छ, अनुमान गर्नसक्नु हुन्छ ? एक सिंह ।

तिनीहरू एक लयमा आउँछन् र जान्छन् । म समयको अधारमा कथा भनिरहेको छु । यो निक्कै जटिल प्रक्रिया हो । साथै यसमा त्यतिकै भाग्य पनि हुनुपर्छ ।

फोटोग्राफरका रूपमा परिपक्व हुँदा
सन् २००० मा मेरो डिजिट फोटोग्राफीसँग परिचय भएको हो । एनालग प्रक्रिया हँुदै आएकाले मैले के महसुस गरेँ भने म यो माध्यमलाई अझ विस्तार गर्न सक्छु र त्यसपछि मैले यो ‘दिन र रात’को अवधारणालाई विकास गर्न थालेँ । यसमा मैले एउटै फोटोग्राफभित्र समयलाई बदलेँ । मैले खासमा दुई आयमिक फोटोग्राफमा ‘खगोल–समय निरन्तरता–टाइम–स्पेस कन्टिनम)’लाई खोजी गरिरहेको थिएँ ।

यो निक्कै रोचक थियो किनकि म फोटोग्राफको माध्यमबाट पहिले कहिलै भन्न नसकिएको कथा भन्न सक्थेँ । एउटा पूरै दिनलाई एउटा फोटोग्राफमा खुम्च्याएर मैले अरू माध्यमले भेट्न नसकिएको एउटा कथ्यको स्तरलाई बयान गर्न सकेको थिएँ ।

समय बितिरहँदा त्यसलाई बोध गर्दाको अनुभवबारे
यसबारेमा सबैभन्दा रोचक पक्ष भनेको मान्छेहरूले यी काममा गर्ने प्रतिक्रिया हो । यो निक्कै अनौठो र भावनात्मक हुन्छ, जब मानिसहरूले समयलाई आफ्नै आँखाले देख्न सक्छन्, एक प्रकारले भन्ने हो भने जब तिनले समयको मुहार देख्छन् । यो चीज भनेको कहिले हाम्रो  हात नलाग्ने कुरा हो । जब तपाईं यिनलाई अवलोकन गर्नुहुन्छ, यसले तपाईंलाई एक अलग अनुभव गराउँछ । यसमा एक भावनात्मक वस्तु जोडिएको छ र त्यो निक्कै रोचक छ । मलाई लाग्छ, अहिलेको समय फोटोग्राफरको रूपमा जीवित हुनका लागि सबैभन्दा उपयुक्त छ । मलाई लाग्छ प्रविधिको विकास हुँदै जाँदा तपाईंले हिजोका दिनमा कल्पना गर्ने कुराहरू तपाईंको हातमा आउनेछ । तपार्इं कता जान चाहनुहुन्छ भन्ने कुराले मात्र फरक पार्छ ।

डिजिटल फोटोग्राफीको फाइदाको बारेमा
फिल्मको सट्टा सिलिकन चिप्समा खिचिने फोटो तपाईं तत्काल हेर्न सक्नुहुन्छ, यो पहिलो कुरा भयो । म फोटो खिच्दा एक दिनमा २५०० सम्म फोटो खिच्ने गर्छु । फिल्ममा खिचिने जमानामा यो लगभग असम्भव हुने थियो । आर्थिक रूपमा म आज जे गरिरहेको छु, त्यो गर्न असम्भव हुने थियो ।

यदि म कथावाचक हुँ भने अचानक पहिले महत्वहीन लाग्ने कुराहरू अब महत्वपूर्ण लाग्न थाल्छन् । अहिले जे भइरहेको छ, त्यसको शक्ति त्यही हो । अन्त्यमा फोटोग्राफी भनेको झ्याल जस्तै हो । भित्तामा रहेका मेरा फोटोले तपार्इंलाई एक गहिरो अनुभूति गराउँछ । म मेरा तस्बिरका दर्शकहरूलाई मैले त्यो फोटो खिचिरहँदा जस्तो अनुभव गरेथेँ त्यस्तै अनुभव गराउन चाहन्छु ।

फोटो प्रिन्टिङको भविष्यबारे
म न्युयोर्कको एक मास्टर प्रिन्टरसँग काम गर्छु र यथार्थमा म परम्परागत कागजमा छपाउँछु । यसले गहिराई दिन्छ जस्तो लाग्छ । म यसलाई विस्तार गर्न चाहन्छु । तर आजकल थ्री–डी छपाई र अन्य विभिन्न कुरामा यति धेरै नयाँ प्रविधि आइरहेका छन् कि आजको विकास र रफ्तारमा अबको ५, १० वा १५ वर्षपछि हामी कहाँ हुन्छौँ भन्न नसक्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस