सिरिया

यसरी ध्वस्त हुँदैछ सिरिया : हेर्नुहोस् भूउपग्रहबाट खिचिएका तस्वीर

एजेन्सी

आइतबार, २० फागुन २०७४, १४ : २७
यसरी ध्वस्त हुँदैछ सिरिया : हेर्नुहोस् भूउपग्रहबाट खिचिएका तस्वीर

सिरिया । दमसकस बाहिरको सम्पूर्ण पूर्वी गुटा क्षेत्रमा बमबारी भइरहेको छ । बमबारीका कारण हजारौँ परिवारहरु विस्थापित भएका छन् । सरकार सम्पूर्ण शक्ति प्रयोग गरेर विद्रोही नियन्त्रित क्षेत्र पुनःकब्जा गर्न खोजिरहेछ ।

सरकारको सहयोगी रुसको निर्देशनमा भइरहेको मानवीय सहयोगको निम्ती दैनिक युद्धविरामले पनि सो क्षेत्रमा रक्तपात रोक्न सकेको छैन । स्कूलहरु, हस्पिटलहरु र पसलहरुमाथि पनि बमबारी भएको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले जनसङ्ख्या ‘जिवित नर्क’मा बाँचिरहेको भनेका थिए ।

एक क्षेत्रमा ९३% भवनहरु क्षतिग्रस्त वा ध्वस्त भएको पछिल्लो संयुक्त राष्ट्रको भूउपग्रहिय विश्लेषणले देखाएको छ । ४ लाख जनसङ्ख्या रहेको सो कृषी क्षेत्र राजधानीसँग जोडिएको विद्रोहीको अन्तिम पकडक्षेत्र हो ।

बेलायतको म्यान्चेस्टर जत्रो आकारको सो क्षेत्र सन् २०१३ देखि विद्रोहीहरुको कब्जामा रहेको छ । तर, सरकार र विद्राहीबीच पछिल्लो नोभेम्बरबाट युद्ध चर्केसँगै यो क्षेत्रको मानवीय अवस्था उल्लेख्य रुपमा खस्केको छ ।

पछिल्लो चरणको बमबारी सिरिया युद्धमा भएको सबैभन्दा भीषण बमबारी मानिन्छ । संयुक्त राष्ट्रले पछिल्लो दुई सातामा ५८० जनाको ज्यान गएको रिपोर्ट दिएको छ ।

नागरिकले प्रयोग गर्ने आधारभुत संरचना र सेवाहरुहरुमा असर परेका छन् । म्याकेन्जी गुप्तचर सेवाले गरेको स्याटेलाइट तस्विरहरुको विश्लेषणले बमको निशानामा हरस्ता क्षेत्रको एक पानी ट्याङ्की पनि परेको देखिएको छ ।

विहिबारबाट लागू भएको पाँच घण्टे युद्धविरामको समयमा दुवै पक्षले अर्को पक्षलाई हमला जारी राखेको आरोपले लगाइरहेका छन् । हालसम्म, रसियाको आग्रहमा भइरहेको सो पाँच घण्टे ‘मानवीय सहयाताको युद्ध विराम’को समयमा कुनै नागरिकले पूर्वी गुटा छाडेका छैनन् । संयुक्त राष्ट्रका एजेन्सीहरु र उनका सहयात्रीहरुले वर्तमान परिस्थितीमा मानवीय सहयोग गर्न असम्भव भएको जनाएको छ ।

सो क्षेत्रमा काम गरिरहेका डाक्टरहरुले स्थीति ‘भयावह’ भएको बताए । उनीहरुका अनुसार नागरिकहरुलाई न खाना छ न औषधी छ न त वासस्थान रहेको छ । संयुक्त राष्ट्र संघका अनुसार हस्पिटलहरु, क्लीनिकहरु र एम्बुलेन्सहरु पनि हमलामा परेका छन् ।

पूर्वी गुटाको घना जनसङ्ख्या रहेको पश्चिमी भागमा संयुक्त राष्ट्र संघले डिसेम्बरमै गरेको गणनामा लगभग ३८५३ घरहरु पूर्णतया ध्वस्त भएका थिए, ५१४१ घरहरुमा गम्भिररुपले क्षति पुगेको थियो र ३५४७ घर आंशिक रुपले क्षतिग्रस्त भएका थिए ।

जोबर
जोबरले हालसम्मको सबैभन्दा ठूलो क्षति भोगेको छ । डिसेम्बरयता लगभग ९३% भवनहरु क्षतिग्रस्त वा ध्वस्त भएका थिए । यो क्षेत्र धेरै महिनासम्म युद्धको मुख्य मोर्चाको रुपमा रहेको थियो । अधिकांश नागरिकहरु यो क्षेत्रबाट भागिसकेका छन् र हाल त्यहाँ विद्रोहीहरु मात्र रहेका छन् ।

सो क्षेत्रबाट भागेर गएकाहरु बसेको छिमेक ऐन टर्मामा पनि सरकारले जुन २०१७ को वरपरबाट आक्रमण गर्न थालेको छ ।

जमाल्का


पूर्वी गुटाको तेस्रो सबैभन्दा क्षति भएको क्षेत्र हो जमल्का । डिसेम्बर यता लगभग ५९% भवनहरु क्षतिग्रस्त वा ध्वस्त भएका छन् । विगत दुई वर्षदेखि यो क्षेत्रमा पिउने पानी र विजुलीको आपुर्ती रोकिएको छ । सो स्थानबाट द्वन्द्व अघिको ७५% जनसङ्ख्या विस्थापित भइसकेका छन् । यो स्थानमा पनि यो महिना बमबारी गरिएको छ ।
 

हमोरिया
पूर्वी गुटामा केन्द्रिय अवस्थीतिको कारणले हमोरियामा डिसेम्बरमा गरिएको मापनमा अन्य क्षेत्रको तुलनामा कम क्षति भेटिएको थियो । सो समय त्यहाँ लगभग ११% भवनहरु क्षतिग्रस्त वा ध्वस्त पाइएका थिए ।
तर पछिल्लो बमबारीमा यो क्षेत्रमा बारम्बार हमला भएको छ ।

हमोरियाको अधिकाश जनसङ्ख्याले सो स्थान छाडेर भागिसकेका छन् र त्यहाँ हाल बसोबास गरिरहेको आधा जनसङ्ख्या अन्त्यैबाट आएका हुन् । यो क्षेत्रमा पनि जुन २०१६ देखि  पानी र विजुली उपलब्ध छैन ।

सक्बा
विगतमा आफ्ना छिमेकी स्थानले जस्तो बम हमला नभोगेको सक्बाले पनि यो महिना भएको बमहमलाको सामना गरिरहेको छ ।

यो स्थानमा बसोबास गर्ने आधा जनङ्ख्या अन्य स्थानबाट विस्थापित भएर आएका हुन् । यहाँ पनि पानी र विजुली अवरुद्ध रहेको छ ।

कफर बत्ना
डिसेम्बरको गणनामा २१% भवनहरु क्षतिग्रस्त वा ध्वस्त भएका कफर बत्ना क्षेत्रले पनि यो महिना भएको सरकारी जहाजको बमबारी भोग्यो । यो क्षेत्रमा केही मान्छेहरुको मारिएका छन् ।

दोमा
पूर्वी गुटाको सबैभन्दा ठूलो शहर दोमा डिसेम्बरको संयुक्त राष्ट्र संघको गणनामा समावेश गरिएको थिएन । तथापि यो स्थान पछिल्लो पटकको हवाई र सैन्य आक्रमणमा परेको छ ।

दोमा नजिकको अल–विरुनी विश्वविद्यालय हस्पिटलको स्याटेलाइट तस्वीरहरुमा सो हस्पिटल पस्ने स्थानमा बाटोमा अवरोध राखिएको देखिएको थियो । म्याकेन्जी गुप्तचर सेवाहरुको विश्लेषणले सो हस्पिटलमा सरकारप्रति इमान्दारहरुलाई मात्र प्रवेश दिइरहेको देखिएको छ ।

जोबर अघि र पछि

मानवीय संकट
मानवीय सहयोगी कार्यकर्ताहरुले हजारौ परिवारहरु जमिनमुनिको बास बसिरहेको बताएका छन् । तीमध्ये धेरैले पानी, सरसफाई र प्रकाशसमेत नपाएको र त्यस कारण धेरै बच्चाहरु रोगको खतरामा रहेको जनाएका छन् ।

सो स्थानमा महङ्गी निक्कै बढेको छ । एक बन्डल रोटीको मूल्य राष्ट्रिय औसतभन्दा २२ गुणा बढी भएको छ । र सो स्थानमा बसोबास गर्ने ११.९% बालबालिकाहरु कुपोषणको शिकार भएका छन् । यो गृहयुद्धपछि सिरियामा मापन गरिएको सबैभन्दा ठूलो दर हो ।
स्थानीयवासीहरुले कयैन दिन खान नपाएको , अखाद्य वनस्पति खाएको वा खानाको मात्रा घटाएको जनाएका छन् । सिरियाली सरकारले भने आफूले नागरिकहरुमाथि आक्रमण गरेको अस्वीकार गरेको छ । उसले पूर्वी गुटालाई आतङ्कवादीहरुबाट मुक्त गर्न खोजेको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस