सरकारले सहयोग गरेपछि सिपिएल खेल्न सन्दीप बिहीबार टोबागो जाने तय

रासस

बुधबार, १४ साउन २०७७, १४ : १२
सरकारले सहयोग गरेपछि सिपिएल खेल्न सन्दीप बिहीबार टोबागो जाने तय

काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । 

कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल थियो । “बिहीबार उड्ने पक्कापक्की छ, अब कुनै द्विविधा छैन”, सिवाकोटीले भने । सरकार र अन्य विभिन्न निकायबाट सहयोग प्राप्त भएपछि सन्दीप टोबागो जान सहज भएको उनले बताए । टोबागो उड्नुअघि उनले मङ्गलबार पिसिआर परीक्षण गराएका छन् । सन्दीपले सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षणका लागि दिएका छन् । परीक्षणको नतिजा आज आउने व्यवस्थापक शिवाकोटीले बताए । 

सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेछ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेपछि सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको थियो । सरकारले सहयोग गरेकै कारण सन्दीपको टोबागो यात्रा सहज भएको हो । उनले टोबागो पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । 

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर ९रु एक करोड ५६ लाख० मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी पनि हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् । सिपिएल आगामी भदौ २ देखि भदौ २५ गतेसम्म चल्नेछ ।

 सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कूल ३३ खेल हुनेछन् । कोरोना भाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइनेछन् । सन्दीप तेस्रोपटक सिपिएल खेल्ने तयारीमा छन् । उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । 

यस्तै दोस्रोपटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले ६ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि उनलाई एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ । 

प्रतिक्रिया दिनुहोस