कोरोना असर : चीनमा छ महिनापछि बल्ल खुल्न थाले सिनेमा घर, खानेकुरा र पेय पदार्थ बेच्न नपाइने

एजेन्सी

सोमबार, ०५ साउन २०७७, १३ : २६
कोरोना असर : चीनमा छ महिनापछि बल्ल खुल्न थाले सिनेमा घर, खानेकुरा र पेय पदार्थ बेच्न नपाइने

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन चीनमा बन्द गरिएका सिनेमा घर ६ महिनापछि खुल्न थालेका छन् ।

चिनियाँ चलचित्र प्रशासनले सोमवारदेखि 'कम जोखिम भएका' स्थानहरूमा सिनेमाघर खोल्न सकिने बताएको छ।

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ।

ज्यानुअरीमा सुरु भएको लकडाउनले चीनका सिनेमाघरहरू नराम्ररी प्रभावित भएका र केही स्थायी रूपमा बन्द भइसकेका छन् ।

खुल्ने सिनेमाघरहरूले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ।

दर्शकहरूको शरिरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले जुनसुकै बेलापनि अनिवार्यरूपमा मास्क लगाउनु पर्नेछ।

चलचित्रको टिकट अनलाइन किन्नुपर्ने र फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर बस्नुपर्ने नियमहरू लगाइएको छ । नयाँ सुरक्षा नियमहरूमा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न नपाइने पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस