बमजनविरूद्ध बलात्कार अभियोग लगाउँदै सर्लाहीमा मुद्दा दायर

शुक्रबार, १९ असार २०७७, १५ : १४
बमजनविरूद्ध बलात्कार अभियोग लगाउँदै सर्लाहीमा मुद्दा दायर

काठमाडौँ । तपश्वीको भेषमा बसेर बलात्कार र बेपत्ताको आरोप लागेका रामबहादुर बमजनविरूद्ध सर्लाहीको सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो । रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको हो । 

बमजनले सर्लाहीको आश्रममा हुँदा आफूमाथि बलात्कार गरेको भन्दै ती किशोरीले माघमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ । 

१४ वर्ष देखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ । आफूमाथि २०७३ साल साउन २० गते बमजनले बलात्कार गरेको आरोप ती किशोरीले लगाएकी छन् । बमजन बेपत्ता छन्। प्रहरीले पटकपटक उनको आश्रममा छापा मार्दा पनि पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस