कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत माग्दै भने- 'विपक्षी कोही नबनौं'

मंगलबार, १५ फागुन २०७४, १५ : ५५
कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत माग्दै भने- 'विपक्षी कोही नबनौं'

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दै एकताबद्ध भएर प्रदेश समृद्धितर्फ लाग्नुको विकल्प नभएको बताएका छन् । ‘एकजुट भएर अघि बढे प्रदेशको विकास र समृद्धिका लागि धेरै समय कुर्नु पर्दैन’ मंगलबार प्रदेश बैठकलाई सम्बोधन गदै शाहीले भने ‘परम्परागत सोच र चिन्तनलाई बदल्न जरुरी छ ।’ सभ्य समाज बनाउन सभ्यताको पहिचान ६ नम्बर प्रदेशबाट दिनुपर्ने उनको भनाई छ ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेशसभाको पहिलो अधिवेशन अन्तरगत मंगलबार बसेकोे पाँचौँ बैठकमा उनले विश्वासको मत पेश गरेका हुन् ।

नेकपा एमालेको तर्फबाट सांसद यामलाल कँडेलले प्रदेश समृद्धिका लागि उक्त प्रस्तावमा अडिक रहेको भन्दै समर्थन जनाए । उनले सरकारमा नरहेको दलले पनि सकारात्मक भुमिका खेलेको भन्दै प्रदेश समृद्धिका लागि सकारात्मक भएको सुनाए ।

नेकपा माओवादी केन्द्रकी सांसद सीताकुमारी नेपालीले प्रदेशको विकास र समृद्धिका लागि उचित स्याहार सुसार गर्नुपर्ने भन्दै जनताको स्तर उकास्न सम्पूर्ण सांसद एकताबद्ध हुनुपर्ने बताइन् ।  नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले काँगेस प्रतिपक्ष भुमिकामा रहेपनि सकारात्मक भुमिका निर्वाह गर्ने बताए । त्यस्तै राप्रपाकी शोसिला शाहीले राप्रपाले पनि प्रदेशको विकास र सरकारको भुमिकालाई सकारात्मक रुपमा लिने बताईन् ।

यस अघिनै सत्तामा रहेको वामगठबन्धनले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको थियो । यो प्रदेशसभामा ४० सांसद रहेका छन् जसमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका ६ र राप्रपा १ छन् ।

प्रतिक्रिया दिनुहोस