टिकट काट्न नसक्नेहरू खाडी मुलुकमै अलपत्र

पत्रपत्रिकाबाट

शुक्रबार, १२ असार २०७७, ०७ : ४४
टिकट काट्न नसक्नेहरू खाडी मुलुकमै अलपत्र

काठमाडौँ । खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवाअसालिमस्थित ब्लक नम्बर ३ मा बसेका झापा सुरुङ्गाका उमेश सोती । उनी स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

उनीसहित ६ नेपाली र एक भारतीय एउटै कोठामा बस्छन् । बाहिरी तापक्रम ४५ डिग्री नाघेको र कोठामा एसी बिग्रिएकाले बस्नै नसक्ने अवस्था रहेको उनले बताए । ‘ज्यान त अन्डा उसिनेजस्तै गुम्सिएको छ, अरूको कोठामा जाने अवस्था छैन, कोठाबाहिर तातो बाफ आउँछ, हपहपी हुन्छ,’ उनले टेलिफोनमा कान्तिपुुरसँग भने, ‘कुवेतमा यस्तो गर्मी छ, हामीलाई सास फेर्नै गाह्रो भइसकेको छ ।’ एसी बनाइदिन दूतावासमार्फत भन्दासमेत कम्पनीले नमानेको उनले बताए ।

उनी काम गर्ने स्पा कम्पनीमा चैत १ देखि ड्युटी बन्द छ । तलब दिएको छैन । सरकारी राहतबाट उनले जसोतसो दैनिक छाक टारिरहेका छन् । यो कम्पनीले २६ ठाउँमा स्पा चलाउँथ्यो । ६ सय जना कामदार थिए । कोरोना महामारीलाई रोक्न कुवेत सरकारले कफ्र्यु लगाएपछि काम बन्द छ । केही खुकुलो भए पनि अब कम्पनी कहिलेसम्म बन्द हुन्छ र कहिले खुलेर काम गर्न पाइन्छ भन्ने यकिन छैन । खुलेपछि काममा फर्किने गरी नेपाल जान कम्पनीले उनीहरुलाई हातहातमा राहदानी थमाइसकेको छ ।

उनीहरु कुवेत पुगेको २० महिना भयो । अबको दुई महिनापछि करारपत्र समाप्त हुँदै छ । फर्किने बेला फिर्ती टिकट कम्पनीकै जिम्मेवारीमा पर्छ । ‘कम्पनीको जिम्मेवारी मात्रै भनेर हुन्न रहेछ, दिनु पनि पर्दो रहेछ । उल्टो कम्पनीले अनेक कागजमा सबै लिइसकेको भनेर हस्ताक्षर गर्न लगायो, नत्र घर जान नदिने भन्यो,’ उनले भने, ‘हामीभन्दा अगाडि ७० जना इन्डोनेसियाली र ३० जना भियतनामी त्यसरी नै गए ।

अब हामीले टिकट पाउने आशा मारिसकेका छौं । हामीले १२ मार्चसम्म काम गरेको तलब पनि पाएका छैनौं । दूतावासमा भन्दा अहिले अप्ठ्यारोमा छांै, केही भन्न मिल्दैन । जस्तो दिएको छ, त्यस्तै खाएर बस, हल्ला नगर भन्ने आदेश आउँछ ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस