- नारायण शर्मा बिपिन
केरा एक सर्वसुलभ फल हो। सबै मौसममा फल्ने यो फल क्याल्सियम लगायत मानव शरीरका लागि आवश्यक खनिज तत्वको राम्रो श्रोत हो। हिन्दु धार्मिक अनुष्ठानहरुमा केराको फल एवं बोटको आफ्नै महत्त्व छ । तर नेपाली समाजमा यसको उच्चारण अलिक अश्लील दृष्टिकोणबाट पनि गरिन्छ । यौनजन्य औषधि उत्पादकहरुले केरालाइ मानव लिङ्गको संकेतका रूपमा प्रयोग गर्दछन । समाजले पनि त्यही बिम्बलाइ स्विकार्दै प्रयोग गरिरहेको छ । पुर्वी नेपालका झापा, इलाम, मोरङ लगायत कतिपय जिल्लामा केरा शब्द नै सार्वजनिक रूपमा प्रयोग गर्नु आपत्तिजनक मानिन्थ्यो र अझै पनि केहि हदसम्म केराले केराको दर्जा पाउन सकेको छैन ।
"के पाइस् नेपाली - केरा", कोरोना रोकथाम र उपचारमा भ्रष्टाचार भएको भनिएको १० अर्ब रुपैयाँको हिसाब खोज्दै नेपालमा बिगत केही दिन संचालित आन्दोलनमा मुख्य नाराको रूपमा यो नारा प्रचलित भयो। कसैले सक्कली केरा टांसेर ल्याए त कसैले चित्र बनाएर। स्वतस्फूर्त भनिएको यो आन्दोलनमा व्यक्त विचार, यसका अभियन्ता र उनीहरुको मनोदशा अनि आन्दोलनका क्रममा उत्पन्न दृश्यहरुले गम्भीर प्रश्न खडा गरेको छ जसको विश्लेषण समयक्रममा हुँदै जानेछ ।
कोरोना भाइरस रोकथामका लागि भनेर सरकारले जारी गरेको लकडाउन र भ्रस्टाचारका विरुद्ध भनेर हालै भएको आन्दोलन र बिगत केही समयदेखि सामाजिक संजालमा आह्वान गरेकै भरमा भएको भनिएका कतिपय आन्दोलनहरु सभ्य र अनुशासित भनिएता पनि यसमा प्रयोग भएका नाराले यसको कथित सभ्यता र अनुशासनको मापन गर्दछ। ´ .... हान तर देश बनाउँछु भन्ने धाक चैं नहान` , कुनै अमुक केटिको नाम लेखेर ´...... I LOVE YOU` , ´म केटी खोज्न आएको` जस्ता नाराहरुले यो र यस्ता खाले आन्दोलनको सभ्यता र शिष्टतालाई उजागर गर्दछ। बेला बेला भै रहने यी उद्देश्य र गन्तव्य बिहिन आन्दोलनलाई त्यसमा प्रयोग भएको नाराकै आधारमा ´केरा आन्दोलन ` नाम प्रस्ताव गरेको छु । साँच्चिकै केरा र केरा उत्पादक किसानहरुमा यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहदै केरा आन्दोलन बारे आफ्नो बुझाइ राख्ने जमर्को गरेको छु । केही बहस यसले सृजना गरोस पनि।
यो सरकार नेपालकै इतिहासको शक्तिशाली तर कमजोर सरकार हो। आफ्ना अलोकतान्त्रिक र अलोकपृय निर्णयका कारण सतारुढ दलकै मान्छेहरुको आलोचना समेत खेप्न बाध्य यो सरकारका मन्त्रीहरुनै भ्रस्टाचारमा मुछिएर राजीनामा दिने तर कार्वाहीमा नपर्ने दृष्टान्त दिन्छन् । यसलाइ टिकाइ राख्नु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु सरह हो। सरकार बारे एत्तिनै विश्लेषण काफी होला।
नेपालमा भएका धेरै समस्या मध्य भ्रष्टाचार एक जटिल समस्या हो। भ्रष्टाचारको बिरोध गर्नु हामी सबैको कर्तव्य हो । हामिले तिरेको करले राज्य कसरी संचालन भइ रहेको छ ? सबै बोल्न जरुरी छ , बोलौं । हिसाब किताब पारदर्शी हुनै पर्छ , सबैले खोजौं । तर जब आन्दोलन हुन्छ यो निश्चित उद्देश्य पुरा गर्न निश्चित बिचार सिद्धान्तद्वारा निर्देशित हुन्छ ।अराजक हुल र कुण्ठित मनोविज्ञानले कुनै पनि आन्दोलन सफल हुन सक्दैन।
यो आन्दोलन स्वतस्फूर्त भनिएता पानी यसका पछाडि केही लबिहरुले काम गरि रहेका छन् । विदेश खासगरी अमेरिकी र युरोपेली मुलुकहरूबाट फर्केर विभिन्न आवरणमा काम गरि रहेका आफुलाइ सामाजिक अभियन्ता भनेर चिनाउनेहरु, विभिन्न दातृ निकायमा काम गर्ने कर्मचारी र भर्चुअल प्लेटफार्ममा काम गर्ने व्यक्ति वा समूह, सत्तापक्षका केही असन्तुष्ट झुन्ड , प्रतिपक्षी राजनीतिक दलका केही कार्यकर्ताहरु यसका अगुवा जस्तो देखिन्छन । तर यस्ताखाले आन्दोलनको परिचालन चाहिँ गोप्य पुँजिद्वारा हुन्छ, hidden funding ।
जनतामा व्याप्त असन्तोषलाई आधार बनाएर यो समूहले कुनै सांगठनिक नेतृत्व र निश्चित विचार सिद्धान्त भन्दा बाहिरबाट काम गरेको देखाइन्छ । बिकृत राजनीतिबाट आजित आम मान्छे संगै प्रविधि मैत्री मानिएको युवा पुस्ता बिना कुनै पुर्बाग्रह यिनलाई पत्त्याएर सहभागी भै दिन्छन् । तर निश्चित राजनैतिक उद्देश्य बेगर कुनैपनी आन्दोलन हुँदैनन् भनेर यसका सहभागीहरुलाइ यसका अभियन्ताहरुले बताउने चेष्टा गर्दैनन् । आन्दोलनको उद्देश्य बताए पनि त्यो रुप पक्ष मात्रै हुन्छ , हात्तीको देखाउने दाँत जस्तै । यो केरा आन्दोलन मुख्य समस्याबाट मानिसको ध्यान बिकेन्द्रीत गर्ने र बिदेशी एजेन्सिहरुका गोप्य कार्याभार (HIDDEN TASK) पुरा गर्ने गतिलो माध्यम बनेको छ । आन्दोलनकै बिचबाट आन्दोलनकारिको रूपमा विदेशी नागरिकहरु पक्राउ पर्नु, उनिहरुले सामाजिक संजालमा गरेका पोस्टहरुले यश आशंकालाई मजबुत बनाएको छ ।
नेपालमा अहिले MCC बारे व्यापक बहस र विरोध छ । MCC का नाममा अनुदान दिने र आफू अनुकुल राज्य संयन्त्र प्रयोग गरेर यहाँका प्राकृतिक श्रोत साधनमाथी कब्जा जमाउने अमेरिकी रणनीति हो। नेपालको सामरिक महत्त्व ( चीन र भारत बिचको अवस्थिती ) लाई आफू अनुकूल प्रयोग गर्ने घोषित उद्देश्य सहित हिन्द प्रशान्त रणनीति ( INDO PACIFIC STRATEGY) अन्तर्गत वैधानिक प्रवेशको मार्ग MCC हो । यसलाई पारित गराउन सत्तापक्ष र प्रतिपक्षी जोडबलले लागेका छन् , जनताको व्यापक बिरोधका कारण मात्रै यो सम्भव भै रहेको छैन। तर राष्ट्रहित बिपरित हुने सम्झौताका सम्बन्धमा यो आन्दोलनका कथित अभियन्ताहरु चुपचाप छन् , आन्दोलन मौन छ । किन ?
नेपाल लामो समयसम्म सामन्तवादी शासनबाट ग्रसित थियोे । उत्पादन सम्बन्धमा अझै पनि सामन्तवाद कायमै छ र शासन व्यवस्था दलाल संसदीय । भ्रष्टाचार र कमिसनखोरी यो व्यवस्थाको मुख्य विशेषता हो । भ्रस्टाचार अहिले वैश्विक समस्याको रूपमा छ । यसको जड शासन सत्ता हो, संसदीय व्यवस्था हो। तर यी अभियन्ता भनिनेहरु सत्ता फेर्ने कुरा किन गर्दैनन् , व्यवस्था परिवर्तनको कुरा किन गर्दैनन ?
लामो समयदेखी वर्गीय , लिंगिय, क्षेत्रीय र जातीय विभेद भोगी रहेका र जनसमुदायको पक्षमा यी मान्छेहरु चुप बस्नु नै श्रेयस्कर मान्छन । विभेद बिरुद्धका आन्दोलन यिनले किन देख्दैनन ? कोरोना कहर छल्दै हजारौं माइलको लामो यात्रा तय गरेर हिन्द महासागरको किनारबाट बिपदमा देश खोज्दै आउने नागरिक सरकारले त देखेन नै , सचेत भनाँउदा यी केरा मान्छेले पनि बोल्न जरुरी ठानेनन । सिमामा अलपत्र राष्ट्रियता यिनको युट्युबको हेराइ बढाउने गतिलो मसला सिवाय केही बन्न सकेन। आफ्नै देशभित्र देश खोज्नु पर्ने मजदुरहरुको अबिराम मेचीमहाकाली यात्रा पनि आन्दोलनको विषय बन्न सक्दैन सभ्य भनिएका सुकिलामुकिला हरुका लागि। खान नपाएर कृतिपुरमा ज्यान गुमाउने भरिया किन आन्दोलनको मुद्दा बन्न सक्दैनन् ?
दिनदिनै बढदो बलात्कारको समस्यालाई यो समुह आवाज उठाउन , विरोध गर्न जरुरी ठान्दैन , बरु माझी औंला ठाडो बनाएर सार्वजनिक प्रदर्शनमा अट्टहास गर्छ । हालै ज्येष्ठ २६ गते , एउटा एनजीओले संचालन गरेको अस्पतालबाट रोजगारी गुमेपछी सफाइ मजदुर सिद्धार्थ आउजिले गरेको आत्मदाहले पनि कुनै अभियन्तालाइ किन पोलेन ? किसानले नबिकेर बारिमै जोत्नुपरेको तरकारीले यिनलाई छुँदैन। समयमा मल बीउ नपाएर हैरान किसानको दुख आन्दोलनमा उठ्दैन ।
जनजिविकाका यावत समस्या, राष्ट्रियताका जटिल मुद्दाहरु धेरै छन जसका बारेमा जनता लामो समय देखि सत्तासंग संघर्ष गरि रहेका छन । यो प्रतिक्रियावादी सत्तालाई हरेक ठाउँ बाट हरेकले चुनौती दिनै पर्छ । तर यौटा गम्भीर प्रश्न , स्वतस्फूर्त भनिएको आन्दोलनले कतै जनतालाइ मूर्ख त बनाइ राखेको छैन? भ्रस्टाचार जस्तो आन्दोलनका निम्ति पपुलर बिषयमा सडकमा सरकारको विरोध गर्ने र एमसिसी जस्तो राष्ट्रघातबाट जनताको ध्यान हटाउने ठूलो षड्यन्त्रमा अहिले एजेन्सीहरु लागि परेकै छन । यो आन्दोलन पनि त्यसैको एक कडि हुन सक्ने कुराबाट इन्कार गर्न सकिदैन ।
मार्क्सका शिक्षाको सार ब्याख्या गर्दै लेनिनले ' मार्क्सवादका तीन श्रोत र तीन संघटक अंग ' मा व्यक्त गर्नु भएको विचार आजपनी उत्तिकै सान्दर्भिक छ । लेनिनले भन्नुभएको छ - " जबसम्म मानिसहरूले हरेक प्रकारको नैतिक , धार्मिक ,राजनीतिक , सामाजिक प्रचार , घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै वर्गीय स्वार्थको खोजिनिती गर्न जान्ने छैनन् , तबसम्म उनीहरूले राजनीतिमा सधैंभरी धोकाबाजी र आत्मबन्चनाको शिकार बनिरहनु पर्ने छ । हर प्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको प्रतीत भए तापनि , कुनै न कुनै सत्तारुढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझे सम्म प्राचीनताका संरक्षकहरुले सुधारवादिहरुलाइ मुर्ख बनाइरहेकै हुन्छन् ।"
प्रतिक्रिया दिनुहोस