प्राकृतिक चिकित्सालयलाई ६० लाख रकम बिनियोजन

रासस

शुक्रबार, ३० जेठ २०७७, १९ : २२
प्राकृतिक चिकित्सालयलाई ६० लाख रकम बिनियोजन

 नवलपरासी । पुर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई जिल्लाकै एक मात्र कोरोना अस्थायी अस्पताल निर्माण गर्न ६० लाख बजेट जुटेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे सहित ८ वटै स्थानीय तहका नगरप्रमुख, गाउपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, चिकित्सक,स्वास्थ्यकर्मीहरु सहितको बैठकले आवश्यक पूर्वाधारको विकास सहित सेवा सुविधा पनि उपलब्ध गराउने निर्णय भएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले बताउनुभयो । 

जिल्लाका ४ गाउपालिकाले ७ लाखका दरले र ४ नगरपालिकाले ८ लाखका दरले रुपैया तत्काल सहयोग गर्ने निर्णय भएकाले अव बजेटको समस्या नहुने भुषालले बताउनुभयो । साथै गण्डकी प्रदेशबाट देवचुली नगरको खातामा प्राप्त १० लाख पनि उक्त अस्पताल निर्माणका लागि उपलब्ध गराउने उहाले बताउनुभयो ।

 जिल्ला अस्पतालका अध्यक्षको संयोजकत्वमा स्वास्थ्य सम्वन्धि समिति, आफ्नै संयोजकत्वमा ५ सदस्यीय समग्र व्यवस्थापन समिति गठन भई काम सुरु भइसकेको भुषालले बताउनुभयो । आफ्नो समितिले जनशक्ति व्यवस्थापन, खरिद भौतिक निर्माण लगायतको काम गर्ने र आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरुलाई, एम्वुलेन्स चालकहरुलाई पनि नेपाल सरकारले दिएको सेवा सुविधा उपलब्ध गराउने गरी काम सुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस