कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको शव व्यवस्थापन नेपाली सेनाले गर्ने

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०७७, १२ : २७
कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको शव व्यवस्थापन नेपाली सेनाले गर्ने

साङ्केतिक फोटो

चितवन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएका भरतपुर ११ का वृद्धको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शवको व्यवस्थापन नेपाली सेनाले गर्ने बताउनुभयो । परिवारको परामर्शमा धार्मिक विधिअनुसार शव व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । 

नारायणी सामुदायिक अस्पताल भरतपुरमा आइसियूमा उपचाररत व्यक्तिमा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका ती बिरामीको मंगलबार बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार कोभिड–१९ निमोनियाका कारण उनको निधन भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार उनी नारायणी सामुदायिक अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा रहेका थिए । बिरामी गम्भीर भएकाले अस्पताल सार्ने वा नसार्ने भन्दाभन्दै साँझ नारायणी सामुदायिक अस्पतालले जबर्जस्ती बिरामी सरकारी अस्पतालमा रिफर गरी पठाएको उहाँले जानकारी दिनुभयो ।

शुक्रबार स्वाब परीक्षणका लागि पठाइएकामा सोमबार नतिजा आएको हो । जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका ती व्यक्ति पहिलो हुन् । भरतपुर महानगरपालिका–११ सामनाटोलका गुरुङ समुदायका ती व्यक्ति ६८ वर्षका हुन् । सोमबार मात्र यहाँको प्रयोगशालामा स्वाब परीक्षण गरिएका ३१० मध्ये ३० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २४ जनाले चितवनका विभिन्न ठाउँबाट स्वाब सङ्कलन गराएका थिए । 

प्रतिक्रिया दिनुहोस