नाइजेरियामा बोको हरामका पाँच लडाकू मारिए

आइतबार, १३ फागुन २०७४, १७ : ०७
नाइजेरियामा बोको हरामका पाँच लडाकू मारिए

अबुजा । नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका पाँचजना लडाकू मारिएको शनिबार जनाएको छ । देशको उत्तरपूर्बी क्षेत्रमा राज्यद्वारा आतङ्ककारी घोषित सो समूहका विरुद्ध भएको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।

उत्तरपूर्बी क्षेत्रमा पर्ने बोर्नो राज्यको राजधानी मैडुगुरीस्थित एक स्थानमा बोको हरामका पाँच जना लडाकू मारिएको पुष्टी सैन्य प्रवक्ता ओन्येमा न्वाचुक्वुले गर्नुभयो । उहाँले साम्बीसा जंगलनजिकै परिसु भन्ने ठाउँमा गोलीलागि शुक्रबार उनीहरुको मृत्यु भएको पनि जानकारी दिनुभएको समाचारमा उल्लेख गरिएको छ ।

बोको हरामका लडाकूहरुलाई कारबाही गर्नका लागि सैन्य टोली गत बिहीबार देखि नै घटनास्थलमा खटिएको न्वाचुक्वुले बताउनुभयो । नाइजेरियाको उत्तरपूर्बी क्षेत्रमा छुट्टै मुश्लीम राज्य स्थापना गर्ने भन्दै बोको हरामका लडाकूहरुले सन् २००९ देखि संघर्ष गरिरहेका छन् ।

उनीहरुको अहिलेसम्मको संघर्षका कारण झण्डै २० हजार जनाको मृत्यु भइसकेको छ भने अरु लाखौं विस्थापित भएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस