भुल्न नसक्ने श्रीदेवीका ११ चलचित्र

एजेन्सी

आइतबार, १३ फागुन २०७४, १३ : ३६
भुल्न नसक्ने श्रीदेवीका ११ चलचित्र

मुम्बई । बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको छ । ५४ वर्षीया उनी श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग दुबइको एक विवाह कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् । उतैबाट उनको मृत्युको खबर सार्वजनिक भएको हो । उनको मृत्युको समाचारले बलिउड जगतका उनका प्रसंशक स्तब्ध भएका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।

बलिउडमा उनले थुपै हिट चलचित्र खेलिन् । जसमध्ये श्रीदेवीका यी ११ चलचित्र दर्शकले कहिल्यै भुल्न सक्ने छैनन् ।
 
सदमा

बालू महेन्द्रको निर्देशनमा सन् १९८३ मा निर्माण भएको सदमा श्रीदेवी कमल हासनको अपोजिट भूमिकामा थिइन् । तर चलचित्रको अभिनयबाट कमल हासनले भन्दा बढी श्रीदेवी प्रशंसा बटुलिन् । यो चलचित्रमा उनले एक दुर्घटनामा परेर मानसिक आघात पुगेकी युवतीको भूमिका निभाएकी थिइन् ।

नगीना

सदमाबाट बलिउडमा चिनिएकी श्रीदेवीले सन् १९८६ मा आएको चलचित्र नगीनाबाट हिट हुने अवसर पाइन् । हर्मेस मलहोत्राको निर्देशनमा बनेको यो चलचित्रमा उनले निर्वाह गरेको इच्छाधारी नागिनको भूमिका दर्शकले निकै मन पराए ।

जाँबाज

सन् १९८६ मा नै आएको चलचित्रमा श्रीदेवीले फिरोज खानको प्रेमीकाको भुमिका निर्बाह गरेकी थिइन् । चलचित्रमा रहेको हर किसि से नहि मिलता बोलको गीत सदाबाहार हिट रहेको छ । चलचित्रमा अनिल कपुर र डिम्पल कपाडियाको पनि भूमिका रहेको थियो ।
 
मिस्टर इन्डिया

१९८७ श्रीदेबीका लागि विशेष साबित भयो । यसवर्ष चलचित्र मिस्टर इन्डिया सुपरहिट भयो । त्यसवर्ष सर्वाधिक कमाई गर्ने चलचित्र बन्यो । शेखर कपुरको निर्देशनमा बनेको यो चलचित्रमा श्रीदेवीले आफ्नै देवर अनिल कपुरसँग रोमान्स गरेकी थिइन् । भारतीय सिनेमामा यसलाई ‘कल्ट क्लासिक’ नै मानिन्छ । चलचित्रका डाइलगदेखि गीतहरु निकै रुचाइएको थियो । ‘हवा हवाई’ गीतदेखि अमरेश पुरीको ‘मोगाम्बो खुस हुवा’ आज पनि उतिकै चर्चित छ ।
 
चाँदनी

यश चोपडाको चाँदनीमा श्रीदेवीको काम एकपल्ट फेरि मानिसले  रुचाए । १९८९ मा आएको यो चलचित्रमा उनको अपोजिट भुमिकामा ऋषि कपूर थिए । सो वर्ष सर्वाधिक कमाई गर्ने चलचित्र मध्येमा एक थियो, चाँदनी । यसले सन् १९८९ को राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट पपुलर फिल्मको उपाधि जितेको थियो ।

चालबाज

सन् १९८९ मा रिलिज भएको यो चलचित्रमा श्रीदेबीले दोहोरा भूमिका निर्वाह गरेकी थिइन् । यो सन् १९७३ को चलचित्र सीता और गीताको रिमेक थियो । चलचित्रमा रजनीकान्त र शनी देओललगातको भूमिका थियो । चलचित्रको गीत ‘ना जाने कहाँ से आई हे’ बोलको गीत सुपरहिट भएको थियो ।

लम्हे

चाँदनीबाट श्रीदेवीको कामको फ्यान भएका यश चोपडाले अर्काे लम्हेमा पनि दोहोर्याए । सन् १९८६ मा बनेको अनोखा रिस्ताबाट प्रभावित भएर सन् १९९१ मा आएको यो चलचित्रमा आफ्नो उमेर भन्दा बढी उमेरका मानिससँग प्रेम गर्ने कथालाई देखाइएको छ । यस चलचित्रमा श्रीदेवीको भूमिकालाई चौतर्फी प्रशंसा मिलेको थियो । भारतमा व्यवसायीक रुपमा असफल भए पनि बेलायतमा यो सफल भएको थियो । चलचित्रबाट श्रीदेवीले फिल्मफेयरमा उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् भने आउटलुक पत्रिकाले यसलाई बलिउडको उत्कृष्ट चलचित्रको सूचीमा समावेश गरेको थियो ।

आर्मी

शाहरुख खान र श्रीदेवी फेस टूफेस भएको यो नै एकमात्र चलचित्र हो । सन् १९९६ को यो चलचित्रमा शाहरुखले आर्मी अफिसरको भूमिका निर्वाह गरेका थिए । शोले चलचित्रबाट प्रभावित भएर बनेको फिल्मलाई राम शेट्टीले निर्देशन गरेका थिए । चलचित्रमा डेनी डेन्जोङ्पाको पनि प्रमुख भूमिका रहेको थियो । यो चलचित्र व्यवसायिक रुपमा पनि सफल भएको थियो ।
 
जुदाई

सन् १९९६ को यो चलचित्रमा राज कंवरको निर्देशन रहको थियो । यसमा श्रीदेवीसहित अनिल कपुर र उर्मिला मातोन्डकरको प्रमुख भूमिका रहेको थियो । सन् १९९४ मा बनेको तेलेगु चलचित्र शुभालङ्गमको रिमेक रहेको यो चलचित्र सुपरहिट बनेको थियो ।

इङ्गलिस विंङ्गलिश

लामो समय पर्दा बाहिर रहेकी श्रीदेवीले सन् २०१२ मा यो चलचत्रिबाट बलिउड काब्याक गरेकी थिइन् । कमेडी ड्रामा चलचित्रलाई गौरी सिन्डेले निर्देशन गरेकी थिइन् । अंग्रेजी नजान्ने घरेलु महिलाको भूमिकाको संघर्षमा आधारित यस चलचित्रमा श्रीदेवीको भूमिकाको निकै प्रशंसा गरिएको थियो । चलचत्रिमा फ्रेञ्च कलाकार मेहेदी नेबुउसँगै अमिताभ बच्चन र अजिथ कुमारको केमियो भूमिका रहेको छ ।

मम

सन् २०१७ मा उनले चलचित्र ‘मम’ अभिनयमा गरेकी थिइन् । पति बोनी कपुरको निर्माणमा बनेको यो चलचित्रमा अभिनयबाट उनले चौतर्फी तारिफ बटुलिन् भने चलचित्र व्यवसायिकरुपमा पनि सफल भएको थियो । एक शिक्षिकाको भूमिका निर्वाह गरेकी श्रीदेवीले यस चलचित्रमा आफ्नो छोरीमाथि भएको बलात्कारको बदला लिएको देखाइएको छ । चलचित्रले ६० करोड भारुभन्दा बढीको व्यापार गर्न सफल भएको थियो । चलचित्रले ६३ औँ फिल्मफेयर अवार्डमा ६ वटा मनोनयन पाएको थियो जसमा श्रीदेवी उत्कृष्ट अभिनेत्री (क्रिटिक) का लागि मनोनयनमा परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस