बाढीले दुई पुल बगायो

रासस

शुक्रबार, १६ जेठ २०७७, ०९ : ४६
बाढीले दुई पुल बगायो

सांकेतिक तस्बिर ।

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ । पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको छ । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिका वडामा बाढी आइ रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताउनुभयो । पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र रोशीखोलामा बुधबार गएको बाढीले दुई पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताउनुभयो ।

“पनौती क्षेत्रमा यति ठूलो बाढी विसं २०१३ असोज १३ गतेपछि आएको ठूलो बाढी हो ।” कर्माचार्यले भन्नुभयो, “बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोला छेउको टिपर गुड्ने बाटोसमेत क्षति पु¥याउनुका साथै एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ ।” यसैगरी सडक छेउमा पार्किङ गरी राखेको बा५ख ३६८९ नंको निशान ट्रक रोशी खोलामा आएको बाढीले करिब २०० मिटर तल बगाइ क्षति भएको प्रहरीले जनाएको छ ।

यसैबीच बुधबार परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ६ ज्यामिरेस्थित रोशीखोलामा दुवैतर्फबाट आएको बाढीका कारण फसेका पञ्च तामाङलाई प्रहरी चौकी भकुण्डेबेँसी र नेपाली सेना २६ नं बाहिनी अङ्डा भकुण्डेबेँसीबाट खटिएको संयुक्त टोलीले सकुसल उद्धार गरिएको छ भने रोशी गाउँपाालिका वडा नं ३ शिखर आम्बोटेका चमारसिं लामा र इन्द्रमाया लामा रोशीखोलामा दुबैतर्फबाट आएको बाढीको कारण बीचमा फसेको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले सकुसल उद्धार गरेका छन् । (रासस)