चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फिर्न इच्छुक

पत्रपत्रिकाबाट

विहीबार, २५ बैशाख २०७७, ०६ : ५२
चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फिर्न इच्छुक

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार विदेशमा झन्डै चार लाख नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन् । तीमध्ये एक लाख १२ हजारलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था छ ।

मन्त्रालयका अनुसार मलेसियाबाट सात हजार, कतारबाट ५० हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (यूएई)बाट १२ हजार, कुवेतबाट नौ हजार, बहराइनबाट तीन हजार र ओमानबाट पाँच सय श्रमिक तत्काल फिर्ता गर्नुपर्ने छ ।

कार्यक्रममा समितिका सदस्य डा. बिन्दा पाण्डेले प्राथमिकता चयन गरेर खान नपाएका र भोकै रहेका श्रमिकलाई तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । तत्काल ल्याउनुपर्ने श्रमिक कति छन् त्यसको पहिचान गरेर स्वदेश ल्याउन ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस