विचार

"नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ"

शनिबार, १३ बैशाख २०७७, १५ : ११
"नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ"

File Photo

- गंगा श्रेष्ठ

महेश बस्नेतलाई व्यक्तिगत रूपमा म चिन्दिनँ । तर उनको कृत्यसँग परिचित छु । नेपाली राजनीतिक वृत्तमा उनको परिचय सरदर राजनीतिज्ञको भन्दा अलि अलग खालको छ । अर्थात विचारको भन्दा बाहुबलको राजनीति गर्नेमा उनको नाम अग्रस्थानमा आउँछ ।

महेशको बारेमा धेरैले नराम्रो कुरा सुनाउँदा कतिपयलाई म कालीदास, वाल्मीकि र सम्राट अशोकको उदाहरण दिएर सम्झाउने प्रयत्न गर्थें । कालीदासजस्ता मुर्ख पनि महाकवि बनेका थिए । वाल्मीकिजस्ता खुंखार डाकु संस्कृतका आदिकवि बने । उनैले विश्वप्रसिद्ध रामायण लेखेका थिए । सम्राट अशोकजस्ता डरलाग्दा हिंस्रक शासक बुद्धको अनुयायी बनेका थिए । कहिलेकाहीँ व्यक्तिले नबुझेर वा संगतले पनि खराब काम गर्न सक्छन् । तर कुरा बुझेपछि, असलहरूको संगत पाएपछि उनीहरूमा पत्याउनै नसकिने परिवर्तन आउँछ । महेश बस्नेतको बारेमा यस्तै धारणा राख्थें म ।

महेश बस्नेतबारे केही कुरा लेख्दैगर्दा २०६७ मा भएको सिन्धुलीको एउटा घटना यतिबेला मेरो मस्तिष्कमा फ्ल्यासब्याक भइरहेको छ । केही दिन अगाडि आफ्ना कार्यकर्ताहरू माओवादीबाट पिटिएपछि त्यसको बदला लिन महेश बस्नेतलगायतका तत्कालीन एमालेका कार्यकर्ताहरू पेस्तोललगायत हतियारसहित सिन्धुली गए । हुन त त्यहाँ एमालेका नेताहरू पनि गएका थिए । एमालेको क्षेत्रीय अधिवेशन पनि थियो त्यसबेला ।

उता माओवादी सिन्धुलीका नेताहरू राजन दाहाल, दीपा बोहरा ९राजनकी श्रीमती० हरूलाई भने महेश बस्नेतहरू हतियारसहित सिन्धुली आउँदैछ भन्ने थाहा थियो । राजन दाहाल रामेछापमा माओवादी पार्टीको ईन्चार्ज भएको बखत उनकै नेतृत्वमा पार्टी कार्यक्रममा गएका वर्तमान मन्त्रिपरिषदका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई बाटोमा ढुंगामुढा गरेर लखेटेका थिए । तसर्थ रामेछाप र सिन्धुलीमा एमाले पार्टीभित्र “राजन आतंक” थियो । “राजन आतंक” का विरुद्ध “महेश आतंक” स्थापित गराउने उद्देश्यले त्यतिबेला एमाले पार्टीले महेशलाई मोहोरी बनाएको हुनसक्छ । जे होस् राजनसँग जुध्न महेश बस्नेत आफ्ना सहयोगीहरूका साथ सिन्धुली रमाना भए ।

सबै सूचना लिएर बसेका राजनले पनि प्रतिरोध गर्ने योजना बनाए । मिनेटमिनेटको सूचना लिएर राजनले महेशमाथि आक्रमण गर्ने तयारी गरे । सिन्धुलीको गुठबजार प्रबेशको घुम्तीमा राजन दाहाल आफ्ना लडाकुसहित ढुंगामुढा लिएर बसे । यो घुम्ती असाध्यै अप्ठेरो छ । माथि भीर तल सुनकोसी । भाग्ने ठाउँ कतै छैन । सिन्धुलीगढीमा अंग्रेजहरूलाई हाम्रा पुर्खाहरूले ढुंगामुढा गरेर लखेटे जसरी लखेट्ने योजना बनाए । राजन तयारी अवस्थामा बसे ।

यताबाट महेश बस्नेत आफ्नो लडाकु टिमसहित जब अप्ठेरो घुम्तीमा पुगे, तब राजनलगायत उनको टोलीले महेश बस्नेतको टोलीमाथि अकस्मात आक्रमण गरे । महेशलगायत उनको टोली राजनको कब्जामा पर्‍यो । गुठबजारमा लगेर महेशलगायत उनको सबै टोलीलाई राजनको टोलीले बामधुलाई गरे । महेश बस्नेत सिंहबाट एकाएक मुसा बने । राजनसँग जीवनको भीख मागे । विजयी भावमा राजनले महेशलाई जीवनको भीख दिए ।

यो घटना सुनिसकेपछि मभित्र त्यसबेला एक प्रकारको वेचैनी पैदा भयो । शान्तिप्रकृयामा आइसकेपछि अब बलले भन्दा तर्कले बिरोधी र प्रतिस्पर्धीलाई वशमा राख्नुपर्छ भन्ने मेरो बुझाई थियो । राजनको बल प्रयोग गर्ने प्रवृत्ति मलाई पटक्कै मन परेको थिएन । आफ्नै पार्टीको कार्यकर्ता भए पनि त्यतिबेला राजनभन्दा महेशमाथि मेरो सहानुभूति रह्यो । मैले राजन प्रवृत्तिको तीखो आलोचना गरें ।

तर अस्ति १० गतेको घटनापछि त्यतिबेला राजनले महेशमाथि जुन व्यवहार गरेका थिए, त्यो सही नै रहेछ भन्ने लागिरहेको छ । सर्पको खुट्टा सर्पले देख्छ भनेझैं त्यहीबेला महेशको खुट्टा राजनले देखेको रहेछ । महेशबारे मेरो अनुमान यतिबेला गलत सावित भएकोछ । बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रामा हाले पनि बाङ्गै हुन्छभन्ने नेपाली उखान सत्य सावित भएकोछ ।

समाजवादी पार्टी फुटाउने उद्देश्य बोकेर प्रधानमन्त्री ओलीको निर्देशनमा १० गते बिहानै दुईजना सहयोगीकासाथ महेश बस्नेत सांसद सुरेन्द्र यादवलाई लिन उनको घर महोत्तरी पुगेका थिए । यो कुरा महेशले स्वीकार गरिसकेका छन् । सांसद यादव कसरी वाध्य भएर महेशहरूका साथ रातारात काठमाडौ आइपुगे रु यसको इतिवृतान्त सांसद यादवले दुनियाँसामु बताइसकेका छन् ।

सांसद यादवको कुरा सुन्दा उनलाई महेशको टोलीले अपहरण नै गरेको देखिन्छ । १० गते अपरान्ह ४ बजेतिर मैले कल गर्दा यादव अत्यन्तै आतंकित भएर मसँग बोलेका थिए । कारण महेशहरू उनीसँगै रहेछन् । आफू जनकपुरमा भएको र पार्टी फुटाउने खेलमा नभएको प्रष्टोक्ती दिएका थिए मलाई । तर आश्चर्य ५स्३० बजे सिभिलमा आएका केही मान्छेले यादवलाई जबर्जस्ती गाडीमा हालेर काठमाडौ लगेको कुरा मकहाँ रिपोर्ट आयो । उहाँको नजिकका आफन्तहरूसँग बुझ्दा कुरा सत्य रहेछ ।

महेश बस्नेतले आफ्नो अपराध स्वीकार गरेर सार्वजनिक रूपमा माफी माग्नुको सट्टा उल्टै बाबुराम भट्टराईलाई साइवर क्राइमको अपराधमा मुद्दा हाल्ने धम्की दिइरहेका छन् । सांसद यादवलाई लिन महोत्तरी गएको कुरा सगौरव बताइरहेका छन् ।

महेशजी १ सांसद यादवले दुनियाँलाई बताए अनुसार तपाईं अपहरणकारी होइन भनेर आफूलाई कसरी प्रमाणित गर्नुहुन्छ रु तपाईंहरू एकाएक यादवको घरमा पुग्नुभएको छ । त्यसपछि यादवलाई हत्कडीविना नियन्त्रणमा लिनु भएकोछ । यादवको इच्छाविपरित रातारात काठमाडौ ल्याउनुभएको छ । बाटाभरि पार्टी फुटाएर प्रधानमन्त्रीलाई सहयोग गर्न दबाव दिनुभएको छ । घुमाउरो ढंगले पद र पैसाको प्रलोभन देखाउनु भएकोछ । अनि उल्टै बाबुरामले यादवको अपहरण गरेको हो भनेर निर्लज्ज कुरा गर्नुहुन्छ ।

तपाईंले १० गते राति ३ बजे यादवलाई छाडेको मेरियट होटेलमा म ११ गते बिहान ८स्३० बजे पुगेको थिएँ । तपाइँको निर्देशनमा मलाई होटलभित्र छिर्न दिइएन । मेरै आँखा अगाडि रातो कारमा हाम्रो पार्टीका सांसदहरूलाई हालेर सुइकुच्चा ठोक्नुभयो । पुलिस बोलाएर हामीलाई गिरफ्तार गर्ने निर्देशन दिनुभयो । अनि उल्टै हाम्रो पार्टीका सांसदहरूलाई हामीले नै अपहरण गरेको आरोप ? कम्तीमा दुईजनाले पत्याउने कुरा त गर्नुस् महेशजी ।

लकडाउनमा देशका सबै जनता घरमा थुनिएको बेला तपाईं कसरी त्यति टाढा यादवको घरसम्म पुग्नुभयो रु किन पुग्नुभयो रु यादवलाई लिन पूर्व प्रहरी प्रमुख लिएर तपाईं नै किन जानु पर्‍यो रु यादव आफै पूर्वमन्त्री हुन् । उनैसँग नेपाल सरकारले खटाएको सुरक्षाकर्मी छ । यादव अहिले पनि सांसद हुन् । सांसदले भनेपछि रातसाँझ जतिबेला पनि स्थानीय प्रहरी प्रशासनले जहाँ जानको लागि पनि सुरक्षा प्रबन्ध मिलाउँछ । अझ प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको भनेपछि त स्कर्टिङको व्यवस्था मिलाएरै बालुवाटार ल्याइदिन्छ । राज्यले यतिधेरै सुविधा र सुरक्षा दिने हुँदाहुँदै पूर्वआइजीलाई लिएर तपाईं किन यादवलाई लिन जानुभयो रु तपाईं हजार तर्क गर्नुस् । सांसद यादवलाई तपाईंहरूले अपहरण गर्नु भएकै हो । कन्चटमा बन्दुक तेर्साएर जबर्जस्ती घिसार्दै लगेपछि मात्रै अपहरण हुने, नत्र नहुने हुँदैन । अरुको पार्टी फुटाउनका लागि आफ्नो पदको दुरुपयोग गरि सांसद यादवलाई उनको स्वीकृति बेगर रातारात काठमाडौ ल्याउने तपाईंहरू अपहरणकारी नै हो । तपाईंहरूलाई अपहरणको मुद्दा किन नचलाउने ?

सर्वेन्द्र खनाललाई मैले २०६९ सालमा अमेरिकाको न्यूयोर्कमा पहिलोपटक चिनेको हुँ । उनी त्यतिबेला युएनमा नेपाल सरकारको तर्फबाट वरिष्ठ प्रहरी उपरीक्षकको हैसियतमा काम गर्थे । उनको फ्ल्याटमा दुई रात सँगै बसेको थिएँ म । मिलनसार र सहयोगी भावना भएको पुलिस अफिसरको रूपमा मात्रै नभएर असल मित्रको बिम्ब बनेको थियो म भित्र सर्वेन्द्र खनालको । अमेरिकाबाट फर्केपछि पनि उनको र मेरो दोस्ती राम्रै थियो । खनाल आईजीपी बनेपछि खुसी भएर बधाई दिएको थिएँ मैले ।

सुझबुझ भएको मान्छे प्रहरी प्रमुख भएको बेला अरु केही नभए पनि देशमा शान्ति सुरक्षामा केही गुणात्मक परिवर्तन आउला, साथै प्रहरी संगठनभित्र केही न केही सुधार होला भन्ने मेरो अपेक्षा थियो । तर मेरो अपेक्षा अनुसार केही भएन । निर्मला पन्तको बलात्कारी र हत्यारालाई विभिन्न बहानामा गिरफ्तार नगरेको देख्दा खनालसँग निराश भएँ म । तैपनि मान्छे खराब भने लाग्दैनथ्यो । खनालबारे मेरो बुझाई यस्तै थियो ।

महेश बस्नेतको नेतृत्वमा सर्वेन्द्र खनाल पनि सांसद यादवलाई लिन महोत्तरीसम्म पुगेको कुरा सुनेपछि पहिला त पत्याइनँ । तर सत्य यही थियो । केहीक्षण त सपनाजस्तै लाग्यो । अझ बालुवाटारबाटै यादवलाई अघिल्लै दिन फोन गरेर मानसिक दबाव दिएको कुरा थाहा पाएपछि त झन अचम्म लाग्यो । यादवलाई काठमाडौसम्म ल्याउन महेशले भन्दा पनि महत्वपूर्ण भूमिका खेलेको कुरा यादवको मुखबाट सुनेपछि सर्वेन्द्रप्रतिको मेरो सबै विश्वास भताभुङ्ग भयो । मिलनसार र सहयोगी भावनाका पुलिस अफिसर र असल मित्रको मभित्र बनेको बिम्ब पानीमा कोरेको चित्रजस्तै बिलायो ।

सर्वेन्द्रजी १ तपाईंप्रति धेरै मान्छेको सद्भाव थियो । तपाईंलाई धेरैले राम्रै पुलिस अफिसरको रूपमा इज्जत गर्थें । मैले पनि इज्जत गर्थें । मजस्तै तपाईंलाई ईज्जत गर्ने धेरै नेपालीहरू थिए । अवकाशपछि पनि तपाईंलाई धेरैले राम्रै मान्थे । तर यो घटनापछि तपाईलाई हेर्ने आँखा धेरैको बदलिएको छ । मेरो त झनै बदलिएको छ ।

के साँच्चै तपाईंले कुनै राजनीतिक नियुक्तिको लागि यस्तो घृणित काम गर्न तयार हुनुभएको हो रु कि हिजो पदमा हुँदा कुनै अपराध गर्नुभएको थियो र त्यसलाई छोपछाप पार्न यस्तो चाकरी गर्नुभएको हो रु आफूले गरेको गल्ती स्वीकार गर्नुको सट्टा उल्टै महेशको बोलिमा लोली पो मिलाउन लाग्नुभयो । महेशको पृष्ठभूमि थाहा थिएन र तपाइँलाई रु महेश कस्तो मान्छे हो चिन्नु भएको थिएन र तपाईंले रु प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले गर्दै गरेको लोकतन्त्रविरुद्धको अपराध थाहा थिएन र तपाईंलाई रु अनि उल्टै त्यस्ता अपराधीहरूको मतियार बन्ने रु अनि प्रश्न गर्नेहरूलाई धम्क्याउने रु तपाईंले यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ जनतालाई नदिएसम्म तपाईंको गुमेको साख फिर्ता हुँदैन ।

अन्त्यमा यस घटनालाई यतिकै सामसुम पार्न खोजिदैछ । यो घटना निन्दनीय र घृणित मात्रै होइन, अपराधिक पनि हो । यस्ता अपराधिक कृत्य गर्नका लागि स्वयं प्रधानमन्त्री ओलीको हात देखिन्छ । तसर्थ, प्रधानमन्त्री ओलीलाई अब नैतिकताको आधारमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन । नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ । साथै, यस घटनामा संलग्न व्यक्तिहरूलाई पनि कारबाही हुनुपर्छ । (अनलाइनखबरबाट)

प्रतिक्रिया दिनुहोस