कोरोना भाइरस: भीडभाड हुने कार्यालय बन्द

आइतबार, ०९ चैत्र २०७६, १९ : ५२
कोरोना भाइरस: भीडभाड हुने कार्यालय बन्द

सुर्खेत ।  कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित रहन बढी भीडभाड हुने कार्यालय बन्द हुन थालेका छन् । सेवाग्राहीको भीडका कारण सङ्क्रमण फैलिन सक्ने भन्दै सुर्खेतस्थित आन्तरिक राजश्व कार्यालय बन्द भएको छ ।

कार्यालयका कर अधिकृत हिक्मत सुनारले केन्द्रको निर्देशनानुसार चैत २१ गतेसम्मका लागि सेवा बन्द गरिएको जानकारी दिनुभयो । उच्च सतर्कता अपनाउनकै लागि कार्यालयको सेवा बन्द गर्नुपरेको उहाँको भनाइ छ ।  

यसैबीच कर्णाली प्रदेश सरकारले समूहमा हिँड्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा आज बसेको कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय अनुगमन समितिको बैठकले सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले विशेष परिस्थितिबाहेक अन्य काममा भेला नहुन आम नागरिकलाई आग्रह गरेको छ । मन्त्री भण्डारीले बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई तत्काल कारवाही तथा प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस