केही समयअगाडि एक निर्माताले अभिनेत्री सरिता गिरीलाई फोनमा सोधे, ‘हामी नयाँ फिल्म बनाउँदै छौं । निर्देशकले तिमीलाई खोज्नुभएको छ । पारिश्रमिक कति लिन्छ्यौ ?’
निर्माता चिनजानकै थिए । सरिताले पारिश्रमिक सुनाइन् तर एउटा सर्त राखिन्– ‘स्क्रिप्ट र चरित्र चित्त बुझ्नुपर्ने ।’ निर्माताबाट कुनै खबर आएन । केही दिनपछि मिडियाबाट थाहा पाइन्, उनलाई भनेको भूमिकामा नयाँ हिरोइनलाई लिइएछ । उनले वास्तै गरिनन् । पछि निर्माताले फेसबुकमा म्यासेज गरे, ‘त्यो भूमिकामा तिमी नै सुहाउँथ्यौ तर ‘हिरोइन मेटिरियल्स’ होइनौ भन्ने कुरा आयो । त्यसैले नयाँ हिरोइन लिनुपर्यो । सरी है ।’
खेलाउनुरनखेलाउनु निर्माण कम्पनीको रोजाइको कुरा तर कारण सुनेर चाहिँ सरिता बेचैन बनिन् । आवरण हेरेरै यतिविघ्न पूर्वाग्रह १ बिस्तारै बानी पनि पर्दै छ किनभने उनले प्रायः सुन्नुपर्छ– ‘तिमी निकै राम्रो अभिनय गर्छ्यौ नि तर के गर्नु तिम्रो टाउको बिक्दैन ।’ उनलाई थाहा छ, बहाना अनुहार नबिक्ने बनाए पनि मूल कारणचाहिँ उनीहरूले चाहे जस्तो जीउडाल नहुनु हो ।
‘सुन्दरता’ कै कारण सरिताको सट्टा फिल्म पाएकी हिरोइनको रिलिजअगाडि चर्चा भयो तर फिल्म चलेपछि गुमनाम बनिन् । थिएटर हुँदै फिल्ममा फड्को मारेकी यी अभिनेत्रीको भोगाइले भन्छ, ‘हामी जति ठूला कुरा गरौं, महिला कलाकारचाहिँ चिटिक्क परेका सुन्दरी नै हुनुपर्छ भन्ने सोच छ । राम्री हुनु नै हिरोइनको गुण हो ।’ अहिले ‘लाइमलाइट’ मा रहेका हिरोइनलाई नियाल्ने हो भने सरिताको ठम्याइ यथार्थपरक लाग्छ ।
त्यसो त समाज, संस्कृति र समुदायअनुसार सुन्दरताको परिभाषा फरक हुन्छ । हामीकहाँ भने गोरी अनि पातलो ज्यान हुनु महिलाको सुन्दरताका अनिवार्य सूचक हुन् । ओठ, उचाइ, नाकको बनावट र मेकअपले पनि अर्थ राख्छ । यस्तो बनिबनाउ मानकलाई व्यापकता दिलाउन फिल्मकै भूमिका ज्यादा छ किनभने फिल्ममा यस्तै रूपरेखा भएकालाई धेरै स्थान दिइन्छ । सोही कारण क्षमता भएर पनि मूल चरित्रमा अभिनयको अवसर नपाउने सरिताजस्ता कैयौं कलाकार छन्, हामीकहाँ । सिर्जना सुब्बा, पशुपति राई, अरुणा कार्की थप उदाहरण हुन् । रोचक संयोग के भने उनीहरू सबै थिएटर पृष्ठभूमिका हुन्, जो सहायक र छोटै भूमिकाबाट आफूलाई ‘मार्क’ गराउन सफल छन् ।
यहाँ सरिताको चर्चा गर्नुको कारण छ । उनी अभिनीत फिल्म ‘आमा’ यतिबेला प्रदर्शनमा छ । उनको भूमिकाचाहिँ सुत्केरी आमा । भर्खरै जन्मिएको छोरो भेन्टिलेटरमा छ, छुनसम्म पाउँदिनन् तर अस्पतालमा उनका साथमा कोही छैनन् । पति वैदेशिक रोजगारमा गएका छन् । अन्तरजातीय विवाह गरेकाले दुवैको परिवारले बेवास्ता गरेको छ । अभिनय यति जीवन्त छ कि फिल्म सकिएपछि पनि उनी मानसपटलबाट हराउँदिनन् ।पात्रप्रति सरिता कति प्रतिबद्ध छिन् भन्ने ‘आमा’ को एक दृश्य र त्यसको पृष्ठभूमिबाट प्रमाणित हुन्छ ।
छोरालाई पिलाउन नपाएपछि गान्निएको स्तनबाट दूध निचोरेर फालेको दृश्य छ फिल्ममा । एकदमै मर्मस्पर्शी र कलात्मक । यो ‘चिट’ गरिएको होइन, क्यामेरासामुन्ने सरिताले स्तन नै निचोरेकी थिइन् । जब कि यो दृश्य पटकथामा थिएन । उनकै आग्रहमा राखिएको हो ।
स्क्रिप्ट पढ्दै र पात्रमा डुब्दै गएपछि सरितालाई लागेछ, छोरालाई खुवाउन नपाउँदाको खास पीडा दूध निचोरेर फालेपछि मात्र अनुभूत हुन्छ । त्यसैले निर्देशकरलेखक दीपेन्द्र के खनाललाई यो दृश्य राख्न सुझाव दिइन् । दीपेन्द्र छक्क १ किनभने त्यति संवेदनशील दृश्य दिने आँट गर्ने अभिनेत्री हामीकहाँ नगन्य छन् । स्तनलाई ‘क्लोज–अप’ मा देखाइन्छ, सिर्फ कामुकताका लागि । सरिताले सम्झिइन् ‘टेक लिइसकेपछि पनि मेरो र निर्देशकका आँखा ओभाएनन् ।’ उनका अनुसार पात्रअनुरूप काम गर्नु कलाकारको आधारभूत जिम्मेवारी हो, त्यसलाई तर्कसंगत र कलात्मक शैली पस्कनु निर्देशकको । ‘तर यहाँ सुटिङको १५ दिनअगाडि अफर गर्छन् अनि जीउडालमा खोट देखाएर फिल्म खेलाउँदैनन् । खोट हाम्रो शरीरमा छ कि फिल्ममेकरको नियतमा रु,’ आक्रोशित भावमा सरिता सोध्छिन् । ६ महिना समय दिए चरित्रअनुरूप शरीरको रूपरेखा बदल्न सकिने उनको भनाइ छ ।
निश्चल बस्नेतको ‘लुट’ पछि नेपाली फिल्मको ‘हिरो’को परम्परागत मान्यता बदलियो । हिरोका लागि गठिलो ज्यान, गहुँगोरो वर्ण र अग्लो हुनु अनिवार्य भएन । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की यही परिवर्तनका प्रतिनिधि हुन् । आज यी तीनै अभिनेता मूल धारमा शक्तिशाली छन्, मुख्य भूमिका उनीहरूकै दबदबा छ तर यही परिवर्तनचाहिँ महिला कलाकारका हकमा भएन । नत्र त सौगात र दयाहाङकै समकक्षी सरिता सहायक भूमिकामा सीमित हुनुपर्थ्यो रु उनीहरू २०–२२ वर्षकी हिरोइनसँग रोमान्स गरिरहँदा सरिताजस्ता कलाकारलाई ‘चरित्र अभिनेत्री’को ट्याग भिराइएको छ । ‘पुरुषझैं महिला कलाकारप्रति सिनेमा र दर्शक किन उदार भएनन् भन्ने बहस नै छुट्यो । दुई–चार महिलाप्रधान फिल्म बन्दैमा हामी मक्ख पर्यौं,’ सरिताले भनिन् ।
उनको बुझाइमा अपवादबाहेक फिल्मलाई रंगीन र ग्ल्यामर अथवा पुरुषको शक्ति प्रदर्शन गर्न महिला पात्रको प्रयोग गरिन्छ । अर्थात, हिरोइन, अभिनेत्री जे नाम दिए पनि महिला कलाकारलाई ‘शो–पिस’ बनाइएको हुन्छ । ‘अधिकांश निर्मातारनिर्देशक अभिनय होइन, अनुहार राम्रो भएकी हिरोइन खोज्छन्,’ सरिता व्यंग्य गर्छिन्, ‘अनुहार नै सबथोक हो भने त सुन्दरी प्रतियोगिताका विजेताहरूलाई मात्र फिल्म खेलाए हुन्छ ।’
सरिताले आरोहण गुरुकुलमा ११ वर्ष बिताइन् । उनको अभिनय कुशलता र लगावको आधार गुरुकुल नै हो । हरेक नाटकमा भिन्न भूमिकामा देखिनु अनि त्यसलाई मञ्चमा जीवन्त बनाउनु उनको खुबी थियो । ‘न्यायप्रेमी’ र ‘खरीको घेरो’ मा महारानी बनिन्, यी नाटकबाट पनि राम्रै प्रशंसा कमाइन् । उनको रूप, शारीरिक बनावट, उचाइ, वर्णसँग कसैलाई समस्या भएन । ‘महिला कलाकार र चरित्रको हकमा फिल्मकर्मी संवेदनशील छैनन् । क्षमता जस्तो होस्, आवरण चहकिलो भए पुग्छ,’ सरिताले दुखेसो पोखिन् ।
कहिलेकाहीँ उनलाई लाग्दोरहेछ, सिनेमामा मात्र होइन, समाजमै महिलालाई सुन्दर देखिनुपर्ने बाध्यता छ । त्यो पनि आफूले चाहेजस्तो होइन, अरूले बनाइदिएको सुन्दरताको परिभाषाभित्र अटाउनुपर्छ । सिनेमामा त्यसको प्रतिबिम्ब भएको मात्र हो । उनको भोगाइ छ, ‘फिल्मभन्दा थिएटरमा कलाकार र कलाको सम्मान हुन्छ ।’
सरिता यसो किन भनिरहेकी छन् भने नाटकमा हुलिया र शारीरिक बनावटलाई लिएर उनले कहिल्यै अपमानित हुनुपरेन तर फिल्ममा प्रायः त्यस्तो भोगिरहनुपर्छ । (कान्तिपुरबाट)
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०४ चैत्र २०७६, ११ : २६
लेखकबाट थप