नौ महिनादेखि नृत्यमग्न

शनिबार, २४ फागुन २०७६, १७ : २६
नौ महिनादेखि नृत्यमग्न

काठमाडौं । जसिता गुरुङलाई दोस्रो फिल्मले नराम्ररी धोका दियो। पहिलो फिल्म ‘लिलीबिली’ले जेजति चर्चा दिलाएको थियो, दोस्रो फिल्म ‘लभ स्टेसन’ त्यसको छेउछाउ पुग्नु त परेको कुरा, उल्टै गाली खायो। एक त फिल्म टर्किस फिल्मको नक्कल थियो त्यसमाथि बासी मेलोड्रामा। जसिताको अभिनयले नै गाली खायो।

तेस्रो फिल्ममा उनी कुनै चान्स लिन चाहान्नन्। यसैले तेस्रो फिल्म उनले रेनशा बान्तवा राईसँग गर्ने निर्णय गरिन्। पहिलो फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ले खास तारिफ नपाए पनि मेकिङ र धिरज मगरका कारणले यसले राम्रै चर्चा पाएको थियो। अर्थात्, जसिताका लागि सुरक्षित जुवा थियो। नृत्यको विषयमा बन्न लागेको यो फिल्ममा जसिताले राम्रै तयारी गर्नुपर्ने थियो। उनले चुनौती स्विकारेकी थिइन्।

केही महिनामै सुटिङमा जाने भनेर साइन गरेको फिल्म नौ महिना बितिसक्दा पनि फ्लोरमा जाने सुरसार छैन। तर, जसिता नौ महिनादेखि नृत्य अभ्यास गरिरहेकी छिन्। नौ–नौ महिनामा नबनेको फिल्म बन्ने-नबन्ने अझै टुंगो छैन तर नौ महिनाको अभ्यासले जसिताको नृत्य चाहिँ पक्कै बन्यो होला। यही आश गरौँ। - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस