एजेन्सी । सय वर्ष अघि प्रथम विश्वयुद्धका क्रममा करिब दुई करोड मानिसको मृत्यु भएको थियो । प्रथम विश्वयुद्धबाट भएको क्षतिबाट उक्सिन नपाउँदै विश्वले अर्को भयानक संकटको सामना गर्नु परेको थियो । त्यो संकट थियो ‘फ्लु’ को प्रकोप ।
‘स्पेनिश फ्लु’ नामले चिनिएको उक्त महामारी पश्चिमी मोर्चास्थित सानो र भीडयुक्त सैन्य प्रशिक्षण शिविरबाट सुरु भएको थियो । खासगरी फ्रान्सको सीमा नजिकै फोहोरबाट यो संक्रमण सुरु भयो र तीव्र रुपमा फैलियो ।
विश्वयुद्ध नोभेम्बर १९१८ मा समाप्त भएको थियो । तर युद्ध समाप्त भएसँगै युद्ध मोर्चाबाट फिर्ता भएका सैनिकहरुसँगै यो भाइरस अन्य क्षेत्रमा फैलिन थाल्यो । स्पेनिश फ्लुबाट त्यतिबेला पाँच देखि १० करोड मानिसको मृत्यु भएको अनुमान छ ।
त्यसपछि पनि विश्वमा यस्ता कयौँ महामारी फैलिए । तर स्पेनिश फ्लुको तुलनामा घातक र व्यापक महामारी अरु देखिएनन् ।
अहिले विश्वले कोविड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण झेलिरहेको छ । यो संक्रमणबाट मृत्यु हुने अधिकांशमा एक प्रकारको निमोनियाको शिकार भएको पाइएको छ, जो भाइरससँग लड्न कमजोर भइसकेको शरीरको रोग प्रतिरोधात्मक क्षमतामाथि हावी हुने गर्दछ ।
स्पेनिश फ्लुको तुलनामा कोरोना संक्रमितको मृत्यु दरमा निकै कमी देखिएको छ ।
स्पेनिश फ्लु फैलिएको समयमा हवाई यात्राको भर्खरै सुरुवात भएको थियो । त्यसैले पनि त्यतिबेला कयौँ मुलुक स्पेनिश फ्लुको प्रकोपबाट मुक्त रहन सफल भएका थिए ।
त्यतिबेला रेल र पानी जहाज तथा डुंगाबाट यात्रा गर्ने मानिसहरुका माध्यमबाट संक्रमण एक ठाउँबाट अर्को ठाउँ सर्ने गरेको थियो । परिणामस्वरुप संक्रमणको फैलावट सुस्त गतिमा भएको थियो ।
कयौँ ठाउँमा स्पेनिश फ्लुको संक्रमण पुग्न कयौँ महिना र वर्षसमेत लागेको थियो । केही स्थानमा भने संक्रमण पुग्न पाएन । यसको मुख्य कारण भनेको त्यतिबेला हवाई यात्राको सुविधा अहिलेजस्तो नहुनु र संक्रमित क्षेत्रका मानिसलाई अन्य क्षेत्रमा पुग्न नदिन अपनाइएका केही आधारभूत तरिका नै हो ।
स्पेनिश फ्लुले आतङ्क मच्चाइरहेको समयमा अलास्काको ब्रिस्टल बे क्षेत्रमा यो संक्रमण पुग्न सकेन । किनकि त्यहाँ समयमै विद्यालय बन्द गरियो, सार्वजनिक स्थानमा भीड जम्मा हुन रोक लगाइयो र मुख्य सडकबाट गाउँ जाने बाटो बन्द गरियो ।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि पनि अहिले चीन र इटलीले त्यही तरिकालाई आधुनिक शैलीमा अपनाउन थालेका छन् ।
चिकित्सकहरुका अनुसार आम रुपमा स्वस्थ मानिसको रोग प्रतिरोधात्मक क्षमता फ्लुको सामना गर्न सक्षम हुन्छ । तर फ्लुको स्वरुपले यति तीव्र रुपमा हमला गर्दछ कि शरीरको प्रतिरोधक शक्ति पराजित हुन्छ । यसबाट ‘साइटोकिन स्टर्म’ नामक प्रतिक्रिया हुन्छ र फोक्सोमा पानी भरिन्छ र अन्य मानिसमा पनि संक्रमण सर्न थाल्छ ।
त्यतिबेला स्पेनिश फ्लुको शिकार तुलनात्मक रुपमा वृद्धवृद्धाहरु थोरैमात्र भएका थिए । किनकि उनीहरुले त्यसअघि नै यो फ्लुको प्रारम्भिक स्वरुपलाई झेलिसकेका थिए ।
फ्लुका कारण विश्वका विकसित मुलुकमा सार्वजनिक स्वास्थ्य प्रणालीमा निकै विकास भएको थियो किनकि सरकारहरु र वैज्ञानिकहरुले महामारी तीव्र रुपमा फैलिने आँकलन गरिसकेका थिए ।
कोरोनाभाइरसले भने वृद्धवृद्धा र पहिलादेखि नै बिरामी भएका मानिसलाई बढीमात्रामा शिकार बनाएको पाइन्छ । यसको मृत्युदर कम भए पनि ८० भन्दा बढी उमेरका मानिसलाई यसले चाँडै आफ्नो चपेटमा लिने गरेको पाइन्छ ।
स्पेनिश फ्ल् विश्वमा फैलिँदा त्यतिबेला विश्वले आफ्नो संशाधनलाई सैन्य कार्यमा लगाएका थिए । त्यतिबेला सार्वजनिक स्वास्थ्य प्रणालीको परिकल्पना अधिक विकसित भएको थिएन ।
कयौँ मुलुक तथा कयौँ स्थानमा मध्यम र उच्च वर्गका मानिसमात्र चिकित्सक समक्ष पुगेर उपचार गराउने गर्दथे । विपन्न परिवारमा उपचारको सुविधा थिएन । त्यसैले स्पेनिश फ्लुले गरिब समुदाय, ग्रामिण क्षेत्रका मानिसलाई निशाना बनायो जहाँ सफाई, पोषक आहारको कमी थियो ।
सरकारहरुले युद्ध स्तरमा संशाधन परिचालन गरे, संक्रमित मानिसलाई अलग राखेर उपचार गरे । आवागमनमा नियन्त्रण गर्दै संक्रमण अन्त्य गर्नका लागि त्यतिबेला प्रभावकारी कदम चालिए ।
कोरोनाभाइरसको संक्रमण सामना गर्नका लागि अहिले सार्वजनिक स्वास्थ्यका क्षेत्रमा उठाइएको कदम स्पेनिश फ्लुकै परिणामबाट पाठ सिकेको नतिजाका रुपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस