आलमलाई धरौटीमा छाड्‍न मिल्दैन : उच्च अदालत जनकपुर

पत्रपत्रिकाबाट

शनिबार, २५ माघ २०७६, ०७ : ०७
आलमलाई धरौटीमा छाड्‍न मिल्दैन : उच्च अदालत जनकपुर

वीरगन्ज । ज्यान मार्ने उद्योगमा थुनामा रहेका पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई साधारण तारेखमा छाड्‍न उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले अस्वीकार गरेको छ ।

शुक्रबार उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले विस्फोटक पदार्थ बम प्रयोग गरी कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगमा आलमलाई पुर्पक्षका लागि थुनामा राख्‍न दिएको रौतहट जिल्लाको फैसला सदर गरेको हो ।उच्च अदालतका श्रेस्तेदार ठाकुर खरेलका अनुसार न्यायाधीश सत्यमोहन जोशी थारु र डिल्लीराज आचार्यको संयुक्त इजलासले ‘सुरु रौतहट जिल्ला अदालतले निजलाई पुर्पक्षका लागि थुनामा राख्दा लिइएका आधार र कारणहरुसमेत मनासिब देखिएकाले आलमलाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा रहेको हालको अवस्थालाई निरन्तरता दिनु आवश्यक एवं उपयुक्त देखिएको भन्दै उच्च अदालत जनकपुरले जिल्ला अदालतबाट २०७६ कात्तिक २९ मा भएको आदेशलाई बेरितको भन्न नमिल्ने बताएको छ ।

जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि हाल कारागार कार्यालय ललितपुरमा थुनामा रहेका प्रतिवादी मोहम्मद अफताब आलमले उक्त आदेश बेरितको भएकोले तारेखमा रही मुद्दा पुर्पक्ष गर्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएका थिए।

‘निवेदकको राजनीतिक शक्ति एवं सार्वजनिक पद, क्रुर यातना तथा अमानवीय एवम् अपमानजक वारदातको प्रकृति तथा एउटै वारदातमा एकभन्दा बढी व्यक्ति उपर एकभन्दा बढी कसुर भएको भन्ने अभियोग दाबीको कसुरहरुको प्रकृति देखिने समेतका आधारहरुले निवेदकलाई मुलुकी फौदजारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम धरौटीरजमानत माग गर्ने आधारहरु र अवस्था विधमान रहेको देखिएन’ आदेशमा उल्लेख छ।

संविधानले मार्ग निर्देशन गरेबमोजिमको न्यायिक निष्पक्षता कायम राख्‍न र न्याय सम्पादनको क्रममा हुने सबै प्रकारका प्रभावहरुलाई न्यायालयको परिसरभित्रको प्रवेशलाई निषेध गर्नसमेत निवेदकलाई धरौटीमा छाड्‍न नमिल्‍ने उच्च अदालतको आदेशमा उल्लेख छ ।कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस