ग्रामीण क्षेत्र लक्षित सिडिएमए बन्द गर्दै टेलिकम

पत्रपत्रिकाबाट

विहीबार, २३ माघ २०७६, ०७ : ५७
ग्रामीण क्षेत्र लक्षित सिडिएमए बन्द गर्दै टेलिकम

काठमाडौँ । ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५ वर्ष पुरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रूपान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

बुधबार कम्पनीको१६औँ वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरूपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षभित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रूपमा रूपान्तरण गरिने छ ।

टेलिकमले सन् २००५ मा पहिलोपटक सीडीएमए सेवाको ‘सफ्ट लन्च’ गरेको थियो । त्यसअघि यो सेवामा नेपालमै पहिलोपटक युनाइटेड टेलिकम (यूटीएल)ले सन् २००२ मा सुरु गरेको थियो । हाल प्रचलनमा रहेको जीएसएम मोबाइल सेवाको पहुँच विस्तार नभएका स्थानमा तत्काल नै सञ्चार सम्पर्क स्थापित गराउन सीडीएमए सेवा त्यतिबेला प्रभावकारी बनेको थियो ।

सीडीएमका लागि तोकिएको फ्रिक्वेन्सी धेरै भागमा फैलाउन सकिने भएकाले नेपालमा दूरसञ्चार पहुँच विस्तारमा यसको महŒवपूर्ण भूमिका रहेको थियो । दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपाल टेलिकमका करिब १७ लाख सीडीएमए प्रयोगकर्ता छन् । टेलिकमले आठ सय ५० मेगाहर्ज ब्यान्डमा छ मेगाहर्ज (सेयर्ड) फ्रिक्वेन्सीमार्फत सीडीएमए सेवा उपलब्ध गराइरहेको छ ।

पछिल्लो समय जीएसएम प्रविधिको देशका अधिकांश ठाउँमा पहुँच पुगिसकेकाले सीडीएमएका लागि प्रयोग भएको फ्रिक्वेन्सीसमेत बचत हुने अधिकारीले बताउनुभयो । प्रविधिगत रूपमा विश्वव्यापीस्तरमै सीडीएमए सेवाको विकास क्रम रोकिएकाले नियामक समेतको सहकार्यमा यो सेवालाई रूपान्तरणसहित बन्द गर्ने कार्यक्रम कम्पनीले ल्याएको हो, उहाँले भन्नुभयो । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस